हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १ मा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीलाई साइकल वितरण गरिएको छ ।

भौगोलिक दुरी र साइकल चल्ने बाटो भएको आधारमा गाउँपालिकाले विद्यार्थी छनोट गरेर साइकल वितरण गरेको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने ५५ जना विद्यार्थीलाई साइकल हस्तान्तरण गरिएको अध्यक्ष आशिष तिलुङले बताए । बकैया गाउँपालिका–१ मा दुर्गम बस्ती रहेको र विद्यार्थीहरूलाई विद्यालय आउनजान कठिन रहँदै आएको थियो । यस कार्यक्रमबाट विद्यार्थीलाई लाभ पुग्ने विश्वास लिइएको छ ।

विद्यालय आवतजावत गर्न सहज वातावरण सृजना गर्ने उद्देश्यका साथ साइकल वितरण गरिएको बकैया–१ का वडाध्यक्ष तितुङले बताए । गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यमा साइकल वितरण कार्यक्रम भएको थियो ।

कार्यक्रममा मन्तव्य दिँदै प्रमुख उपाध्यक्ष खत्रीले अहिलेको गणतान्त्रिक व्यवस्थाले विपन्न र सुविधाबाट वञ्चितमा परेका जनसमुदायलाई प्राथमिकता दिएको बताए । कोही पनि बालबालिका विद्यालयबाट बाहिर हुन नपरोस् भनेर गाउँपालिकाले विभिन्न कार्यक्रमहरू ल्याएको भन्दै उहाँले विद्यार्थीलाई मेहनत गरि पढ्न पनि आग्रह गरे ।