हेटौँडा । अतिक्रमण बढ्दै जाँदा बागमती प्रदेशको वन क्षेत्र घट्दै गएको छ । प्रदेशका १३ जिल्लाको तुलनामा सबैभन्दा बढी अतिक्रमण सिन्धुली जिल्लामा भएको तथ्याङ्कले देखाउँछ । बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय अन्र्तगत रहेको वन निर्देशनालयका अनुसार प्रदेशका १३ जिल्लामा १२ हजार ९ सय ४६ दशमलव ७९ हेक्टर वन क्षेत्र अतिक्रमण भएको हो ।
गत आर्थिक बर्ष २०८०÷८१ को तथ्याङ्क अनुसार प्रदेशमा सबैभन्दा धेरै सिन्धुली जिल्लामा छ हजार ४०४.८७ हेक्टर वन अतिक्रमण भएको छ भने भक्तपुर जिल्लामा शुन्य रहेको तथ्याङ्क छ । वन निर्देशनालयका अनुसार मकवानपुरमा ३ हजार ५५६.९६ हेक्टर, चितवनमा एकहजार ६८८ हेक्टर, रामेछापमा ४९५.०५ हेक्टर, धादिङमा २४६.९६ हेक्टर वन क्षेत्र अतिक्रमण भएको वन निर्देशनालय हेटौँडाका वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए । त्यस्तै काभ्रेपलाञ्चोकमा २५८ हेक्टर, नुवाकोटमा ९३.९४ हेक्टर, सिन्धुपाल्चोकमा ७८.९० हेक्टर, दोलखामा ४४.८४ हेक्टर, रसुवामा ३६.२७, ललितपुरमा ३० हेक्टर र काठमाडौँमा १२ हेक्टर वन क्षेत्र अतिक्रमण भएको तथ्याङ्क छ ।
गत आवमा बागमती प्रदेशभित्र करिव १३ हजार हेक्टर वन क्षेत्र विभिन्न माध्यमबाट अतिक्रमित भएकोमा ४२.२६ हेक्टर वन क्षेत्रलाई अतिक्रमणमुक्त गरी वनक्षेत्र पुनः कायम गरिएको वन निर्देशक विद्यानाथ झाले जानकारी दिए । दोलखाको १७.१० हेक्टर, चितवनको ९ हेक्टर, काठमाडौंको ६.७४ हेक्टर, ललितपुर र भक्तपुरको १–१ हेक्टर र मकवानपुरको ०.५१ हेक्टर अतिक्रमित जमिनलाई वन क्षेत्र कायम गरिएको उनले बताए ।
विगतदेखि नै सबैभन्दा धेरै वन क्षेत्र व्यक्तिबाट अतिक्रमणमा परेको छ । संघीयता आएपछि अर्थात २०७४ बाट स्थानीय तहहरुले भवन निर्माण र खेलकुद मैदानसहित अन्य पूर्वाधारका संरचना निर्माणका क्रममा बढी अतिक्रमण भइरहेको वन अधिकृत अर्यालले बताए । प्रदेश मन्त्रालय, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन, प्रहरी लगायतको सक्रियतामा मात्रै अतिक्रमण न्यूनीकरण गर्न र अतिक्रमित जमिन वन क्षेत्र कायम गर्न सकिने उनको भनाइ छ ।
गत आव २०८०-८१ मा डिभिजन वन कार्यालयहरु अन्र्तगत रहेको सामुदायिक वन लगायतका वन क्षेत्रभित्र ३४०.११ हेक्टर जग्गामा काष्ठजन्य, फलफुलजन्य र जडीबुटीजन्य विरुवाहरु वृक्षारोपण गरिएको छ । जङ्गल भित्र रहेका खाली, ऐलानी, पर्ति क्षेत्रहरु वन क्षेत्र कायम भई वनको घनत्व वृद्धि हुने, वन पैदावारको सहज आपूर्ति, स्थानानुसार भू–क्षय नियन्त्रण हुने, कार्बन सञ्चितिमा वृद्धि हनुे, जैविक विविधताको संरक्षण, पानीको मुहानको स्रोत संरक्षण र आयआर्जनमा वृद्धि हुने भएकाले वृक्षारोपण गरिएको वन निर्देशक झाको भनाई छ ।
प्रदेशमा सामुदायिक वनको सङ्ख्या चार हजार ५३४ रहेको छ । सामुदायिक वनले चार लाख २५ हजार ४१३ हेक्टर क्षेत्रफल ओगटेको छ । प्रदेशमा कबुलियती वन तीनहजार ३३६, निजी वन ६७३, धार्मिक वन ४९ र संरक्षित वन दुइ वटा छन । बागमतीको कुल क्षेत्रफलको ५३ दशमलव ७३ प्रतिशत वन क्षेत्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस्