हेटौंडा । मकवानपुर बकैया–४ का राजमान विकले २०५९ असार ३० गते देवतीकुमारी घिमिरेसँग बिहे गरे । तर, अन्तरजातीय विवाह गरेका कारण घरपरिवार र आफन्तले स्वीकार गरेनन् । हेटौंडामा किराना पसल चलाएर अघि बढ्न थाले । दुई छोराछोरी हुर्कँदै गएपछि आर्थिक भार थपियो । विक २०७३ सालमा वैदेशिक रोजगारीमा गए । २०७५ मा घर आई तीन महिनामा दुबई फर्किए । उनी दुबईमा कमाएको पैसा श्रीमतीलाई पठाउँथे ।

तर, २०७६ सालदेखि एकाएक श्रीमती सम्पर्कमा आउन छाडिन् । छोरामार्फत मात्रै कुराकानी हुन थाल्यो । २०७७ पुस ८ गते छोराछोरीलाई डेरामा छाडेर घिमिरे सम्पर्कविहीन भइन् । विक त्यही वर्ष फागुनमा घर फर्किए । विदेश बसेर पठाएको ८ लाख नगद, १२ तोला सुन र पसल बेचेको पैसा लिएर श्रीमती सम्पर्कविहीन भएपछि खोजी थालेको उनले सुनाए । ‘तर, श्रीमती भेटिनँ । आफ्नो सुर गर्नू भन्ने कुरा अरूमार्फत नै आयो’, ३७ वर्षीय विकले भने, ‘अन्ततः मैले सम्बन्धविच्छेदको मुद्दा दायर गरेँ । अहिले म अदालत धाइरहेको छु ।’

घिमिरे अदालतको सम्पर्कमा पनि आएकी छैनन् । विक दुई छोरासहित घरमै खेतीकिसानी गरेर बसेका छन् । ‘संसारको खुसी दिन भनेर विदेश गएँ । कमाएँ । तर, श्रीमती खुसी राख्न सकिनँ’, उनले भने, ‘आज त्यसकै सजाय भोगिरहेको छु ।’

रौतहट चन्द्रनिगाहपुरका रितेश श्रेष्ठ (नाम परिवर्तन)लाई श्रीमती कहाँ छिन् भनेर अत्तोपत्तो छैन । उनले श्रीमतीविरुद्ध अंश दाबीसहित सम्बन्धविच्छेद मुद्दा दर्ता गरेका छन् । उनी विदेश बसेर पैसा कमाउँथे । श्रीमती यता जग्गा खरिद गर्थिन् । तर, तीन साताअघि घर फर्किंदा न श्रीमती भेटे न त आफ्नो कमाइले किनेको जमिन नै । श्रीमती अर्कै पुरुषसँग हिँडेको थाहा पाएपछि उनले सम्बधविच्छेदको मुद्दा दर्ता गरेका हुन् । उनले श्रीमतीको नाममा हेटौंडामा एक कट्ठा जमिन किनेका थिए ।

थाहा नगरपालिका–३ का २५ वर्षीय रोशन गोपाली अदालत धाइरहेका भेटिन्छन् । काठमाडौं चन्द्रागिरि–३ की २४ वर्षीया चन्द्रिका गोपालीसँग उनले चार वर्षअघि प्रेमविवाह गरेका थिए । त्यसको एक वर्षपछि सम्बन्ध बिग्रन थाल्यो । ‘घरमा सामान्य विवाद हुँदा पनि मलाई कुटपिट गथ्र्यो’, रोशनले भने, ‘तर, मैले यस्तो कुरा कहीँ कतै भनिनँ ।’

२०७५ असोज १३ गते आफूलाई कुटपिट गरेपछि श्रीमती माइत गएको उनले बताए । ‘पटक–पटक फर्काउन मैले फोनमा कुरा गरेँ । सँगै मिलेर बस्ने प्रयास गरेँ’, उनले अदालतमा भनेका छन्, ‘२०७७ मंसिर ५ गते म लिन जाँदा आएन, उल्टै धम्की पाएँ । त्यसपछि मैले सम्बन्धविच्छेदको बाटो रोजेँ ।’

उनले २०७७ मंसिर १९ गते मकवानपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए । चन्द्रिका रोशनकोे सम्पर्कमा छैनन् । अदालतमा पनि उनले म्याद गुजारेका छन् । ‘सधैं पीडा सहेर बस्नुभन्दा सँगै बस्न नसक्ने भएपछि छुट्टिने निर्णयमा पुगेँ’, उनले भने ।

हेटौंडाका दिपंकर घिमिरेले २०७० मंसिर २२ मा रामेछापकी सम्झना नेपाल (नाम परिवर्तन) सँग विवाह गरे । त्यसको एक वर्षपछि छोरीको जन्म भयो । उच्च शिक्षा र रोजगारीका लागि दम्पती नै अस्ट्रेलिया जाने सल्लाह भयो । दुवै जना २०७५ असार २० गते अस्ट्रेलिया उडे । त्यहाँ ६ महिनासम्म सम्बन्ध राम्रै रह्यो ।
‘त्यसपछि श्रीमतीको बानी व्यवहारमा एक्कासि परिवर्तन हुन थाल्यो, साना कुरामा पनि वादविवाद’, घिमिरेले सम्बन्धविच्छेदको निवेदनमा लेखेका छन्, ‘मलाई सामान्य विवादमा उजुरी गरेर सात महिना हिरासतमा राखे। त्यसपछि म २०७६ जेठ ४ मा नेपाल आएँ ।’ उनले हिरासतबाट छुटेपछि पनि सँगै बस्न र घर जान आग्रह गरेँ । ‘तर मैले अर्के केटा साथी खोजेँ । आफ्नो सुर गर्नु भनेर सामाजिक सञ्जालमा पनि ब्लक गरेँ’, उनले लेखेका छन्, ‘त्यसपछि म सम्बन्धविच्छेदको मुद्दा दायर गर्न बाध्य भएँ ।’

आफुलाई श्रीमतीले अष्ट्रेलिया पुग्ने माध्यम मात्र बनाएको घिमिरेको दाबी छ। श्रीमतीले पनि आफूलाई कुटपिट गरेको प्रत्युत्तर अदालतमा पेस गरेकी छन्।

२०७५ साउनसम्म महिलाले मात्र अदालतमा सिधै सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउँथे। २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता २०७४ ले पुरुषलाई पनि यस्तो मुद्दा सिधै अदालतमा दर्ता गराउन अधिकार दिएको छ । ऐनको दफा ९४ मा पतिले सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ । त्यसपछि श्रीमतीसँग सम्बन्ध तोड्न चाहने पुरुष अदालत जान थालेका हुन् ।

पत्नीसँग सम्बन्धविच्छेद गर्न पतिले चलाएका ५५ मुद्दा चालू अवस्थामा रहेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराई बताउँछन् । २०७८÷७९ को हालसम्म ३८ मुद्दा फैसला भइसकेको छ ।

२०७७÷७८ मा १ सय ४ जनाले श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका अदालतको तथ्याक छ । तीमध्ये ७७ वटा फैसला भएको र २७ वटा चालू आर्थिक वर्ष सरेर आएको हो । अदालतमा वैदेशिक रोजगारीमा रहेका र हिंसामा परेका पुरुष बढी मुद्दा लिएर अदालत धाउने गरेको श्रेस्तेदार भट्टराईको भनाइ छ ।

‘पुरुषहरू सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत आउने क्रम बढेको छ’, श्रेस्तेदार भट्टराई भन्छन्, ‘अझ बढी वैदेशिक रोजगारीबाट फर्किएका पुरुषहरूको मुद्दा धेरै छन्।’ पत्नीले अर्कैसँग बिहे गरेको, आफूलाई बेवास्ता गरेको, अनावश्यक शंका गरेको, सम्पर्कविहीन भएको, विदेशबाट फर्कँदा सबै पैसा सकाइदिएको कारण देखाएर मुद्दा दर्ता गर्ने गरेको जिल्ला बार एसोसिएसनका अध्यक्ष ऋषि केवीको भनाइ छ ।

यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्धविच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोेक्ने व्यवस्था थियो। पुरुषले चाहँदैमा अझै सजिलै सम्बन्धविच्छेद हुन सक्ने स्थिति नरहेको जिल्ला बार एसोसिएसन मकवानपुरका पूर्वअध्यक्ष मदन दाहालको भनाइ छ ।

महिलामा अंश दाबी नगर्ने पनि समान
महिलालाई सम्बन्धविच्छेद गर्दा श्रीमान्को अंश दाबी गर्ने कानुनी सुविधा छ । तर, जिल्ला अदालतको तथ्यांकअनुसार अंश नलिई छुटिनेको संख्या करिब ५० प्रतिशत छ । २०७७÷७८ मा ३ सय ३१ जनाको मुद्दा फैसला भयो । चालू आर्थिक वर्ष १ सय ७४ वटाको फैसला भइसकेको छ । ‘यी मुद्दामा करिब आधा मुद्दामा महिलाले अंश दाबी गरेका छैनन्’, श्रेस्तेदार भट्टराई भन्छन् ।

फैसलामा धेरै समय लाग्ने भएकाले पनि अंश दाबी नगरी मुद्दा हाल्ने गरेको जिल्ला बार अध्यक्ष केवी बताउँछन् । न्यून सम्पत्ति भएकासँग पनि अंश दाबी नगर्ने देखिएको उनको भनाइ छ ।

कानुनमा के छ व्यवस्था ?
मुलुकी देवानी संहिता २०७४
९४. पतिले सम्बन्धविच्छेद गर्न सक्नेः पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्नेछ ः –
(क) कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेमा ।

साभारः कृष्ण सारुमगर, अन्नपूर्ण पोष्ट दैनिक

Visited 274 times, 1 visit(s) today