हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासनिक भवनको शनिवार शिलान्यास गरिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गदै उनले भवन निर्माण पश्चात जनतालाई सहज र सरज ढंगबाट सेवा दिन आग्रह गरे । भवन निर्माण समयमै सम्पन्न गर्न आग्रह गर्दै उनले प्रशासनिक भवन निर्माण भएपछि यहाँका जनतालाई अझैं महसुस हुनेगरी सेवाप्रवाह गर्न जोड दिए ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानिया लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरले स्वागत गरेकी थिइन ।
लामो समयदेखि भाडाको घरबाट सेवा दिँदैआएको मनहरी गाउँपालिकाको अब आफ्नै भवन निर्माण हुने भएको छ । पालिकाको प्रमुख प्रशासनिक भवनको तामाकोसी–ढाँचा निर्माण सेवा जेभी बालाजु –१६ काठमाडौँले निर्माणको ठेक्का पाएको छ । असोज १४ गते सम्झौता भएको भवनको २०८२ चैत ३० गते निर्माण सम्पन्न हुने उल्लेख छ ।
तीन तल्लाको निर्माण हुने भवनको कुल लागत ८ करोड २८ लाख ६ हजार १७८ रुपियाँ ३९ पैसा रहेको छ । ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने भवन अपाङ्गमैत्री र नयाँ प्रविधियुक्त हुने मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । भवन निर्माण भए पश्चात् पालिकाले दिने सेवा थप प्रभावकारी हुनुका साथै आर्थिक बचत समेत हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्