हेटौँडा । हेटौँडा–६, चौघडास्थित वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३५औँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष रामहरि चौलागाईंको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख लामाले दुग्ध उत्पादक किसानले दूध उत्पादनका क्षेत्रमा गरेको काम महत्वपूर्ण हुनुका साथै कृषि क्षेत्रमा समेत उदाहरणीय रहेको बताइन्। उनले उपमहानगरपालिकाले नगरका विभिन्न वडामा दुग्ध उत्पादन तथा कृषि क्षेत्रका कार्यक्रमलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताइन् ।

उनले उपमहानगरपालिकाले प्रविधिमैत्री, किसानमैत्री तथा कृषिमैत्री कार्यक्रमलाई प्राथमिकता दिएको बताइन्।

साधारणसभामा संस्थाका अध्यक्ष चौलागाईंले संस्थागत प्रतिवेदन, उपाध्यक्ष एवं कृषक हितकोष संयोजक केशव धितालले हितकोषको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन तथा पशु स्वास्थ्य समितिका संयोजक सूर्यप्रसाद दुलालले पशु स्वास्थ्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारणसभाको अवसरमा उत्कृष्ट किसान, बचतकर्ता, ऋणी, सञ्चारकर्मी तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट ऋणीमा खिलकुमारी सुवेदी र देवकी तिवारी तथा उत्कृष्ट बचतकर्तामा ध्रुवराज शर्मा, रोशना नेपाल र रामहरि राई पुरस्कृत भए ।

त्यस्तै बढी दूध बिक्री गर्ने तथा पशुआहार खरिद गर्ने बासुदेव अधिकारी र अशिष मल्ल, बढी पशुआहार खरिद गर्ने रामनाथ बास्तोला, बढी दूध बिक्री गर्ने रामकृष्ण दुलाल तथा गुणस्तरीय दूध बिक्री गर्ने सूर्यप्रसाद दुलाल र श्यामप्रसाद न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।

यसैगरी भाडा सफा गर्ने शारदा तिमल्सिना र गोठ सफा राख्ने गीता भट्टराईलाई पनि पुरस्कृत गरिएको थियो । संस्थाका गतिविधिको प्रचारप्रसार तथा संस्थाको लोकप्रियता बढाउन योगदान पुर्‍याएको भन्दै सञ्चारकर्मी कपिल खड्कालाई सम्मान गरिएको थियो ।

संस्थाका व्यवस्थापक लक्ष्मण सापकोटा, सहायक रामकृष्ण दुलाल र बलराम सञ्जेललाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटा, संस्थाका पूर्वअध्यक्ष बासुदेव अधिकारी, बासुदेव सापकोटा, साधुराम चौलागाईं, श्यामप्रसाद न्यौपाने, केशवप्रसाद सञ्जेललगायतको उपस्थिति थियो ।

संस्थाका व्यवस्थापक लक्ष्मण सापकोटाका अनुसार संस्थामा ३३० जना शेयर सदस्य आबद्ध छन् । संस्थाको शेयर पुँजी १२ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ । संस्थाले दुग्ध खरिद तथा बिक्री, पशुआहार खरिद तथा बिक्री र पशु बीमालगायतका काम गर्दै आएको छ ।

भीमसेन पौडेल
थप जानकारी