हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले विपद् प्रभावित क्षेत्रलाई समेट्ने गरी चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । थाहा नगरपालिकाको शुक्रबार सम्पन्न नगरसभाले विपद्बाट क्षति पुगेका महत्वपूर्ण सडक पूर्वाधारको मर्मतका बजेट शिर्षक संशोधन गरेको हो ।

नगरसभाले विपद्बाट क्षति व्यहोरेको सडक पूर्वाधार खुलाउन तथा मर्मतका लागि १ करोड ३६ लाख रुपैयाँ बजेट रकमान्तर गर्ने गरी बजेट संशोधन गरेको थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए। उनका अनुसार उक्त रकम विपद् प्रभावित सडक पूर्वाधारको अवरोध हटाउन लागेको खर्चको भुक्तानी गर्ने गरी संशोधन गरिएको हो ।

नगरसभाले केही आयोजनाहरु कार्यान्वयनका लागि संशोधन गर्ने निर्णय गरेको उनले बताए। कार्यपालिका र विभिन्न विषयगत समितिले गरेका निर्णयहरु पनि नगरसभाबाट अनुमोदन गरिएको प्रमुख विष्टले जानकारी दिए । नगरसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन माथि छलफल गर्दै स्वीकृत गरेको छ ।

नगरसभामा नगरसभा अध्यक्ष नगर प्रमुख बिष्णु बिष्ट ले आर्थिक बर्ष २०८१/०८२ को समिक्षा वक्तव्य प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१/०८२ को कुल विनियोजित बजेट ९६ करोड ६५ लाख मध्य पौष २३ गते सम्म चालू तर्फ ३३.४ प्रतिशत र पुजिगत तर्फ ११.२४ प्रतिशत वित्तिय प्रगती भएको विवरण प्रस्तुत गर्दै  वार्षिक लक्ष्यको ३०.५३ प्रतिशत राजस्व संकलन भएको विवरण प्रस्तुत गरे।

नगरसभा बाट नगरपालिकाको अहिले सम्म आर्थिक विकास तर्फ १९.६९ प्रतिशत वित्तीय प्रगती भएको सामाजिक बिकास तर्फ ३३.०६ प्रतिशत,पुर्वाधार बिकास तर्फ १०.५८ प्रतिशत बन बाताबरण तथा विपद व्यवस्थापन तर्फ ८.०७ प्रतिशत र शुशासन तथा संस्थागत विकास तर्फ २९ प्रतिशत प्रगती भएको प्रतिवेदन प्रस्तुत गरियो।

नगरसभामा उप–प्रमुख भरत गोपाली, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान, कार्यपालिका सदस्यहरु, विभिन्न उपसमितिका संयोजकहरु,नगरसभा सदस्यहरु,नगरपालिकाका शाखा प्रमुख ,कर्मचारी हरुको उपस्तिथि रहेको थियो ।