हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माणाधीन भवनको निर्माण कार्य हालसम्म ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

गाउँपालिकाको वडा नम्बर ३, हात्तीसुँडेस्थित निर्माणाधीन भवनको हालसम्म ७० प्रतिशत आर्थिक र ९० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाका सव इन्जिनियर गुणराज श्रेष्ठले जानकारी दिए । भवनको रङ्गरोगन र फिनिसिङ गर्ने काम धमाधम भइरहेको उनले बताए ।

भ्याट र कन्टिजेन्सीसहित १२ करोड ३ लाख १७ हजार लागत अनुमान रहेको भवन ७ करोड ८२ लाख ५० हजार ७७० मा निर्माण सम्झौता भएको थियो । हालसम्म निर्माण कम्पनीलाई चार करोड भुक्तानी भएको सव इन्जिनियर श्रेष्ठले जानकारी दिए । वि.सं २०७९ जेठ ३१ गते भवन बनाउन आशिवार्द सञ्जय सुभानीले गाउँपालिकासँग सम्झौता गरी निर्माण गरिरहेको थियो । पहिलो चरणमा २०८१ जेठ ३१ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा साझेदारी अनुसारको सङ्घीय सरकारले समयमै बजेट नपठाउँदा भवन निर्माण ढिलाइ भएको हो । गत वर्ष नै भवन निर्माण कार्य सम्पन्न हुनुपर्नेमा सङ्घीय सरकारले पठाउनुपर्ने बजेट समयमै नपठाउँदा निर्माणमा ढिलाइ भएको बकैया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।

“निर्माण कम्पनीलाई ३ करोड भुक्तानी दिन बाँकी छ, सङ्घीय सरकारबाट समयमै बजेट निकासा नहुँदा भुक्तानी गर्न समस्या भएको छ,”–प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने । सम्बन्धित मन्त्रालयलाई भुक्तानीका लागि परिपत्र गरिएको जानकारी दिर्दै कार्यालयबाट एकमुष्ट भुक्तानी पठाउने आश्वासन प्राप्त भएको उनले बताए । अपाङ्ग, बालमैत्री, भुक्म्प प्रतिरोधी, लिफ्ट र व्यवस्थित पार्किङ सहितको चार तले भवनमा साना ठुला गरेर दुई वटा सभा हल सहित ३० वटा कोठा तयार हुँदै छ । स्टोर, शौचालयसहित भवनको माथिल्लो तल्लामा आवास निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाको १२ कठ्ठा क्षेत्रफल रहेकोमा ६ सय १० स्क्वायर मिटर क्षेत्रफलमा पालिका भवन निर्माणाधिन रहेको छ । भवन निर्माण भएपछि गाउँपालिकाको कार्यालय र शाखाहरू सबै एउटै छानामुनि हुने गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । पालिका भवनबाट सेवाप्रभाह हुन थालेपछि सेवा प्रवाहमा सहज, फरक फरक शाखालाई कार्यसम्पादन र सेवाग्राहीका लागि पनि सहज हुने पालिका अध्यक्ष लामिछानेको विश्वास छ । १२ कठ्ठा क्षेत्रफल रहेको पालिकाको निर्माणाधीन पालिका भवन रहेको क्षेत्रबाटै गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ ।

तीनसय ९३ दशमलव ७५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो पालिका भौगोलिक रुपमा विकट भएकोले आवश्यक पूर्वाधारको अवस्था कमजोर रहेको छ । तामाङ जातिको बाहुल्यता रहेको यो पालिकामा शिक्षा, स्वास्थ्य, गरिवी तथा अन्य सुचकहरु कमजोर रहेको छ । यो पालिकामा १२ वडा वडाहरु रहेका छन ।

Visited 26 times, 1 visit(s) today