हेटाैँडा । बागमती प्रदेशको राजधानी हेटौँडाबाट ललितपुर हुँदै संघीय राजधानी जोड्ने कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको बकैया गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय ठिंगनले आइतबार साँझ सूचना जारी गर्दै आइतबार साँझदेखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ४ः३० बजेसम्म सवारीसाधन आवतजावतमा प्रतिबन्ध लगाइएको हो। अर्को सूचना नआएसम्म यो व्यवस्था निरन्तर रहने इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ।

इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक विद्यासागर मेहताले बाटोको अवस्था र यात्रु सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको बताएका छन् । उनले पछिल्लो समय निरन्तरजसो पानी परिरहेको र कान्ति लोकपथअन्तर्गत मकवानपुर र ललितपुरका केही स्थानमा सडकमाथिबाट पहिरो खस्ने समस्या भएका कारण राति हिँड्नु जोखिमपूर्ण हुने भएकाले सवारी आवागमनमा प्रतिबन्ध लगाएको बताए।

साथै, उनले यात्रु र सवारी सञ्चालहरूलाई रातको समयमा आवतजावत गर्ने परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे ।