हेटौँडा । एघार जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले एकहजार ९४२ उजुरी फछ्र्यौट गरेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा आयोगको कार्यालय हेटौँडामा विभिन्न माध्यमबाट प्राप्त भएका एकहजार ८४९ उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९१४ सहित २ हजार ७६३ उजुरी परेको थियो । अख्तियार हेटौँडा कार्यालयमा परेको उजुरीको ७० प्रतिशत उजुरी फछ्र्यौट भएको छ ।
अघिल्लो र गत आवमा आयोगमा परेको ८२१ उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ । सबैभन्दा बढी रौतहटको ७५० र सबैभन्दा कम रसुवा जिल्लाको दई वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले जानकारी दिए । उनका अनुसार बाराको ७३६, पर्साको ५७०, मकवानपुरको ३७२, चितवनको २९०, धादिङको १७, दोलखाको १३, काभ्रेपलाञ्चोकको ६, सिन्धुपाल्चोकको ४ र नुवाकोट जिल्लाको ३ वटा उजुरी अख्तियारको हेटौँडा कार्यालयमा उजुरी परेको हो । परेका उजुरी मध्य सबैभन्दा धेरै बारा जिल्लाको २४१ उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ ।
अख्तियारमा सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित उजुरी परेको छ । तथ्याङ्क अनुसार एघार जिल्लाको स्थानीय तहसँग सम्बन्धित एकहजार ९४३, प्रदेश सँग सम्बन्धित ४७४ र संघ सरकार सँग सम्बन्धित ३४६ उजुरी परेको हो । जसमध्य स्थानीय तहको एक हजार ३५८, प्रदेशको ३३९ र संघको २४५ वटा उजुरी फछ्र्यौट भइसकेको छ । परेका उजुरी मध्य स्थानीय तह (संघीय मामिला) सँग सम्बन्धित एकहजार ४६९, स्थानीय तह
(शिक्षा) ४७२, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय १७७, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय १३०, वन मन्त्रालय ६३ र अन्यको ४५५ वटा उजुरी परेको थियो ।
आयोगमा परेका उजुरीहरू र आयोगले दायर गरेका आरोपपत्रहरूका अनुसार गैरकानुनी लाभ वा हानी नोक्सानी पुर्याउने, घुस÷रिसवत लिने दिने, सार्वजनिक सम्पत्तिको हिनामिना र दुरूपयोग गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, झुठा ÷ नक्कली शैक्षिक प्रमाणपत्र लिई व्यक्तिलाई लाभ पुयाई सरकारी कोषको. दुरूपयोग गर्ने, सरकारी राजश्व चुहावट तथा मस्यौट गर्ने, गलत लिखत वा प्रतिवेदन बनाउने, कागजात सच्याउने, परीक्षाको गोपनीयता भंग गर्ने, परिणाम फेरबदल गर्ने जस्ता भ्रष्टाचारका प्रवृत्तिहरू रहेको देखिन्छ ।
दुई महिनामा २४५ उजुरी
अख्तियार हेटौँडा कार्यालयमा चालु आर्थिक वर्ष २०८२÷८३ को दुई महिनाको अवधिमा २४५ उजुरी दर्ता भएको छ । अख्तियारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा १७० र भदौ महिनामा ७५ उजुरी दर्ता भएको हो । जसमध्ये साउनमा आयोगको वेबसाइटबाट ४, इमेल मार्फत ४४, टेलिफोनबाट ७, लिखित निवेदन मार्फत ६५, समाचारपत्रबाट ५ र हुलाकबाट ४४ उजुरी दर्ता भएको थियो ।
त्यस्तै भदौमा प्राप्त उजुरी मध्य आयोगको वेबसाइटबाट २, इमेल मार्फत २७, टेलिफोनबाट १, लिखित निवेदन २४, समाचारपत्र १, हुलाक सेवा मार्फत २० उजुरी दर्ता भएको आयोगको वेब साइटमा सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । परेका उजुरी मध्य धेरैजस्तो स्थानीय तह, यातायात र मालपोत कार्यालयसँग सम्बन्धित रहेको अख्तियार कार्यालय हेटौँडाकी सूचना अधिकारी प्रतिभा राईले जानकारी दिइन् ।
आयोगमा फेसबुक, समाचारपत्र, आयोगको वेव साइड, भाइबर, हुलाक सेवा, इमेल, मोवाइल एप, हेलो सरकार, टेलिफोन, राष्ट्रिय सतर्कता केन्द्र, प्रमुख जिल्ला अधिकारी र लिखित निवेदन पर्ने गरेको उल्लेख छ । जसमध्ये लिखित, इमेल र हुलाकबाट उजुरी आउनेको संख्या धेरै रहेको आयोगको तथ्याङ्कले देखाउँछ । आयोगको कार्यालय हेटौँडाले रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखालाई कार्यक्षेत्र बनाएर उजुरी लिने र आवश्यक कार्वाही गर्ने गर्दै आईरहेको छ ।












प्रतिक्रिया दिनुहोस्