हेटौँडा । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु प्रवद्र्धन गर्न नपाइने भएको छ । बजारमा विभिन्न औषधी पसल तथा अन्य पसलमा विभिन्न ब्रान्डको आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट यस्ता वस्तुहरूको प्रवद्र्धन नगर्न जनस्वास्थ्य कार्यालय, मकवानपुरले आग्रह गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्त्व पाइने तथा पोसिलो र रोग प्रतिरोधको क्षमता बढाउने महत्त्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने उल्लेख छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तु (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ ले स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्ताहरूले ऐनको दफा ८ को उपदफाहरु (४), (५), वा (६) उल्लङ्घन गरेमा र उत्पादक तथा वितरकहरूले ऐनको दफा ९ को उपदफा (१), (४), (५), (७), (८), (९), (१०), वा (११) र दफा १० र ११ उल्लङ्घन गरेमा जरिवाना तथा कैद सजायको प्रावधानहरू राखेको छ । उल्लेखित प्रावधानहरूको निरीक्षण गर्ने अधिकारीले कारवाहीको लागि किटानी जाहेरी दिने, खानतलासी गर्ने, बरामंदी मुचुल्का तयार गरी बरामद गर्ने, पक्राउ गर्ने, तथा मुद्दा चलाएर अभियोग लगाउने समेत अधिकार प्रत्यायोजन भएको छ ।
जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई तालिम पश्चात् निरीक्षक तोकिएको जनस्वास्थ्य कार्यालय, मकवानपुरका जनस्वास्थ्य निरीक्षक वासुदेव रिमालले जानकारी दिए । “आमाको दूधको सट्टामा रेडिमेट दूध बिक्री वितरण गर्न मिले पनि त्यसको प्रवद्र्धन गर्न पाइँदैन, प्रदर्शन वा प्रवद्र्धन गरे ऐन बमोजिम कारबाही हुन्छ,”–जनस्वास्थ्य निरीक्षक रिमालले भने ।
जिल्लामा रहेका औषधी पसल तथा अन्य पसलमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु प्रवद्र्धन भइरहे पनि नियमित रूपमा अनुगमन र सचेतनाको अभावमा बिक्री वितरण भइरहेको छ । हालसम्म आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु प्रवद्र्धन गरेको सम्बन्धी उजुरी वा गुनासो नआएको जनस्वास्थ्य कार्यालयको भनाई छ ।












प्रतिक्रिया दिनुहोस्