हेटौँडा । वन डढेलो नियन्त्रणका लागि गरिएको पूर्व तयारी र अभ्यासका कारण मकवानपुरमा वन डढेलो क्रमशः घट्दै गएको छ । सन् २०१३ मा १२ हजार २२१ हेक्टर वन क्षेत्रमा डढेलो लागेकोमा त्यो न्यूनीकरण हुँदै सन् २०२१ मा ६ हजार ९७९ हेक्टरमा झरेको थियो । गत आर्थिक वर्षमा भने पाँच सय ७४ हेक्टर वन क्षेत्रमा मात्रै डढेलो लागेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।
“पछिल्लो समय मकवानपुरमा वन डढेलो लाग्ने मौसम सुरु भएसँगै डढेलो नियन्त्रणका लागि अपनाइएको पूर्व तयारी तथा सामुदायिक वन उपभोक्ता समूहको असल अभ्यासका कारण वन डढेलो तुलनात्मक रूपमा घट्दै गएको छ,” डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीले बताए ।
उनका अनुसार विशेषगरी चैत १५ गतेदेखि वैशाख १५ गतेसम्म वन डढेलो लाग्ने सम्भावना बढी हुने गर्दछ । गर्मी सुरु भएसँगै डढेलोको जोखिम बढ्दै जाने भएकाले न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
सन् २००० देखि २०२५ सम्मको २५ वर्षको तथ्याङ्क अनुसार जिल्लाको पूर्वी क्षेत्र बकैया र बागमती गाउँपालिकामा वन डढेलो बढी लाग्ने गरेको देखिएको छ । डिभिजन वन कार्यालय मकवानपुरका अनुसार बकैयाको वडा नम्बर १, २ र ७ तथा बागमतीको वडा नम्बर ३, ४ र ६ मा विगत २५ वर्षदेखि नियमित रूपमा डढेलो लाग्ने गरेको तथ्याङ्क छ ।
चुरे क्षेत्र, बस्ती कम भएका स्थान तथा मानविय चेतनाको कमीका कारण पनि वन डढेलो लाग्ने गरेको बताइएको छ । डढेलो न्यूनीकरणका लागि वन क्षेत्रमा नयाँ अग्नि रेखा निर्माण, पुराना अग्नि रेखाको मर्मत, वन क्षेत्र भएर जाने सडक तथा बाटो सरसफाइ, पत्कर हटाउने लगायतका कार्य भइरहेको डिभिजन वन कार्यालय मकवानपुरका फोकल पर्सन हेमकुमार पाठकले जानकारी दिए ।
गत आर्थिक वर्षमा १५६ किलोमिटर अग्नि नियन्त्रण रेखा (फायर लाइन) निर्माण गरिएको थियो । साथै चार महिनाका लागि डढेलो नियन्त्रण दस्तामा दुई सय जनाले रोजगारी समेत पाएका थिए । चालु आर्थिक वर्षमा पनि दुई सय किलोमिटरभन्दा बढी अग्नि रेखा निर्माण गर्ने तयारी गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरेर सशक्त प्रतिक्रिया टोली (फायर रेस्पोन्स टिम) निर्माण गर्ने तयारी भइरहेको डिभिजनल वन अधिकृत चन्द्रवंशीले बताए । “वन डढेलो नियन्त्रणमा प्रभावकारिता ः तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मूल नाराका साथ चैत १ गतेदेखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह–२०८२ मनाउन सुरु गरिएको छ ।
सप्ताहअन्तर्गत मकवानपुरगढी, हर्नामाडी, भिमफेदी, छतिवन, बकैया, फापरवारी, राईगाउँ र हेटौँडामा वन क्षेत्रबाट ज्वलनशील वस्तु हटाउने, अग्नि रेखा निर्माण, सरसफाइ तथा पत्कर पन्छाउने कार्यक्रम सञ्चालन गरिने फोकल पर्सन पाठकले बताए । डिभिजन वन कार्यालय मकवानपुर अन्तर्गत करिब ७० हजार हेक्टर वन क्षेत्र रहेको छ । यस क्षेत्रमा २११ सामुदायिक वन उपभोक्ता समूह तथा ८ वटा सब–डिभिजन कार्यालय रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्