हेटाैँडा । मकवानपुरको हेटौँडास्थित एक एसइई परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ०८२ चैत २० गते बिहान करिब ८ बजे हेटौँडा उपमहानगरपालिका– १०, भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसइई परीक्षा केन्द्रमा अर्काको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएका एक युवकलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका– ४ घर भई हाल हेटौँडा– ४ मा बस्दै आएका तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत करिब १७–१८ वर्षीय विराज विक रहेका छन् । शुक्रबार नेपाली विषयको परीक्षा रहेको थियो ।
प्रहरीले जनाएअनुसार विकले मकवानपुर हेटौँडा– १२, पदमपोखरी बस्ने किशोर श्रेष्ठका छोरा करिब १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेशपत्रमा आफ्नो फोटो राखेर परीक्षा दिन आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा विराज विक र अंकिश श्रेष्ठ दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्