हेटाैँडा । दुग्ध उत्पादक किसानबाट संकलित रकम पुनःकिसानकै हितमा लगानी गर्ने नीतिअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाले वडा नम्बर ३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई साढे ७ लाख रुपैयाँ बराबरको ३० केभिए क्षमताको जेनेरेटर सहयोग गरेको छ।
शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गरेका हुन्। कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अनन्त प्रकाश अर्याललगायत दुग्ध किसानहरूको उपस्थिति रहेको थियो ।
गाउँपालिका अध्यक्ष कालाखेतीले विद्युत अवरुद्ध हुँदा किसानबाट संकलित दूध चिस्यान केन्द्रमा सुरक्षित राख्न समस्या हुने भएकाले जेनेरेटर सहयोग गरिएको बताए। किसानबाट दूध बिक्रीका आधारमा संकलित रकम पुनः किसानकै हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको उनको भनाए छ ।
मनहरी गाउँपालिकाले केही समयअघि दुग्ध किसानको भुक्तानी सुनिश्चित गर्दै सहकारीमार्फत दूध खरिद–बिक्रीको व्यवस्थापन सुरु गरेको थियो। त्यसपछि किसानबाट प्रतिलिटर ५० पैसाका दरले रकम संकलन हुँदै आएको छ।गाउँपालिकाका अनुसार यसअघि जिल्ला सहकारी संघमार्फत दूध कारोबार हुँदा प्रतिलिटर तीन रुपैयाँसम्म कमिसन लाग्ने गरेकोमा अहिले खर्च घटेर ५० पैसामा सीमित भएको छ ।
गाउँपालिकाले ‘कृषि उपज खाता’ सञ्चालन गरेर दूध बिक्रीको आधारमा रकम संकलन गर्दै आएको छ । हालसम्म उक्त खातामा करिब २५ लाख रुपैयाँ संकलन भइसकेको गाउँपालिकाले जनाइएको छ। संकलित रकम दुग्ध किसान र सहकारीको पूर्वाधार विकासमा खर्च गर्ने लक्ष्य राखिएको अध्यक्ष कालाखेतीले बताए। ‘किसानको दुःख गरेर जम्मा गरेको पैसा किसानकै हितका लागि प्रयोग गर्छौ।’
सहकारीमार्फत दूध संकलन र नियमित भुक्तानी प्रणाली सुरु भएपछि मनहरीका दुग्ध किसान उत्साहित बनेका छन्।गाउँपालिकाले उद्योगसँग समन्वय गरेर किसानलाई प्रत्येक १५ दिनमा भुक्तानी सुनिश्चित गरेपछि किसानको विश्वास बढेको भने हाल मनहरीबाट दैनिक करिब १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । यस्तै पछिल्लो समय यस व्यवस्थाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई समेत पशुपालनतर्फ आकर्षित गर्न थालेको गाउँपालिकाको दावी छ ।












प्रतिक्रिया दिनुहोस्