जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मउवा सङ्घले जिल्ला प्रशासन कार्यालयमार्फत रकम हस्तान्तरण गर्दै । तस्बिर अनिल पराजुली ।

हेटौँडा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मकवानपुरका ७० जना आफन्तसँग सम्पर्कविहीन भएको भन्दै खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा जानकारी गराइएको छ । बिहीबार साँझसम्म ७० जना व्यक्तिका आफन्तले प्रशासनमा सम्पर्क गरी खोजीका लागि आग्रह गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको बिहीबार बसेको सर्वपक्षीय बैठकमा बाढी प्रभावित क्षेत्रमा रहेका आफन्त सम्पर्कमा नआएको भन्दै खोजीका लागि प्रशासनमा जानकारी गराइएको हो । जिल्ला प्रशासन कार्यालयले बाढी प्रभावित क्षेत्रमा रहेका र सम्पर्कमा नआएका व्यक्तिबारे जानकारी गराउन तथा खोजी र उद्धारमा सहयोग गर्न सार्वजनिक सूचना जारी गरेपछि आफन्तहरूले प्रशासनमा सम्पर्क गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार प्रारम्भिक विवरणमा हेटौँडाका ३४ जना र थाहा नगरपालिकाका करिब २० जना सम्पर्कविहीन रहेको जानकारी आएको छ । उनीहरू बाढी प्रभावित क्षेत्रमा कन्टेनर चालकका रूपमा कार्यरत रहेको बुझिएको छ । स्थानीय तहसमेत खोजी तथा उद्धारमा सक्रिय रहेको र सम्पर्कविहीन व्यक्तिको यकिन विवरण सङ्कलन भइरहेको उनले बताए ।

जिल्ला प्रशासनले खोजी तथा उद्धारसम्बन्धी जानकारीका लागि ९७४४६३७७७७ नम्बरमा एसएमएस गर्न आग्रह गरेको छ । बैठकमा अझै सम्पर्कमा नआएका व्यक्तिको नाम, मोबाइल नम्बर र फोटो उपलब्ध गराउन आग्रह गरिएको थियो । बैठकले राहत वितरण तथा सङ्कलनमा एकरूपता कायम गर्नसमेत आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले आफूखुसी राहत वितरण वा सङ्कलन नगर्न आग्रह गर्दै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्नुभन्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी त्यसको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउन अनुरोध गरे ।

उहाँले नजिकिँदै गरेको तीज पर्वलाई सभ्य रूपमा मनाउन आग्रह गर्दै विपद्का कारण देश शोकमा रहेका बेला एक साताअघिदेखि पार्टी प्यालेसमा भड्किला कार्यक्रम नगर्नसमेत अनुरोध गरे । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले विपद्को समयमा सबैले संयमित हुनुपर्ने बताउँदै जिल्लामा पनि विपद्को जोखिम रहेका स्थानमा पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिए ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरले विपद् व्यवस्थापनको पूर्वतयारीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो । प्रत्येक स्थानीय तहका वडामा २५ जनाका दरले विपद् सूचक बनाउनेलगायतका पूर्वतयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तथ्याङ्कअनुसार २०८३ वैशाख १ गतेदेखि भदौ ११ गतेसम्म मकवानपुरमा विभिन्न विपद्का ६९ घटना भएका छन् । ती घटनामा सात जनाको मृत्यु, १० जना घाइते र तीन वटा चौपायाको क्षति भएको जनाइएको छ । बैठकले मनसुनको प्रभाव तथा असरबारे छलफल गर्दै वन कार्यालयमार्फत सामुदायिक वनबाट काठे साँघु निर्माण गर्ने र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ स्वीकृत गरेको छ ।

यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मकवानपुर उद्योग वाणिज्य सङ्घले पाँच लाख पाँच हजार पाँच सय ५५ रुपियाँ, हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले एक लाख ११ हजार एक सय ११ रुपियाँ र नेपाल पत्रकार महासङ्घ मकवानपुरले २५ हजार रुपियाँ जिल्ला प्रशासन कार्यालयमार्फत हस्तान्तरण गरेका छन् ।