कास्की । गण्डकी प्रदेशको कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा बिगत १२ बर्षदेखि सुष्मा गुरुङले होटल व्यवसाय संचालन गरेकी छिन् । उनी पुरानो र जमेकी होटल व्यवसायी हुन ।

मार्दी हिमाल ट्रेक जाने रुटको तीन हजार ५५० मिटरको उचाईमा उनले हाइक्याम्प गेष्ट हाउस एण्ड रेष्टुरेन्ट संचालन गरेकी छिन् । उनलाई उनका पती पूर्ण बहादुर गुरुङले पूर्ण रुपमा सहयोग पनि गरेका छन ।

एक सफल र कुशल व्यवसायीको रुपमा परिचित सुष्माले करिव एक करोडको लगानीमा होटल संचालन गरेकी छिन । मार्दी हिमाल ट्रेकिङ रुटको हाइक्याम्प अन्तिम होटल पनि हो । पारिवारीक वातावरणमा १० वटा कोठासहित रहेको होटल हाइक्याम्पमा खान, बस्न, डाइनिङमा हिटरको व्यवस्था सहित तातो तथा चिसोपानीको सुबिधा रहेको छ ।
साकाहारी र मांसाहारी दुबै खानाको व्यवस्था रहेको यस होटलमा प्रतिदिन साहाकारीका लागि १५ सय र मांसाहारीका लागि १८ सय देखि २ हजार सम्म लाग्ने उनले बताइन ।

गुरुङ दम्पत्तिले संचालन गरेको यस होटलमा तीन जनाले रोजगारी पनि पाएका छन । होटल व्यवसायबाट गुरुङ दम्पत्तिले राम्रो आम्दानी गर्न सफल भएका छन भने उनीहरु सन्तुष्ट पनि रहेका छन । होटल व्यवसायबाट गरेको आम्दानीले गुरुङ दम्पत्तिले आफ्ना बालबच्चाहरुलाई राम्रो शिक्षा दिक्षा दिन सफल भएका छन ।

यस क्षेत्रमा असोज, कात्र्तिक र मंसिर तथा फागुन, चैत र बैखास महिना घुम्नका लागि राम्रो सिजन भएको सुष्माले बताइन । सिजनमा होटलमा दैनिक ६० देखि ६५ जना सम्म पर्यटक आउने गरेका छन । यहाँ आन्तरिक तथा बाह्य दुबै किसिमका पर्यटक आउने गरेका छन । होटल व्यवसायबाट गुरुङ दम्पत्तिले बार्षिक २५ देखि ३० लाख सम्म आम्दानी गर्ने गरेका छन ।

पानीको समस्या रहेको मार्दी हिमाल ट्रेक हाइ क्याम्पमा आकाशबाट परेको पानी ड्रममा जम्मा गर्ने गरिएको छ । मुहानबाट आउने पानी प¥र्याप्त नरहेको यहाँका होटल व्यवसायी गुरुङले बताइन् । यस क्षेत्रका होटलमा खाद्यान्न पोखराबाट आउने गरेको छ । सिदिङ्ग सम्म मोटरबाटो र त्यहाँबाट खच्चरमा खाद्य सामाग्री हाइक्याम्प सम्म पु¥याउने गरिएको छ ।

अन्नपूर्ण सर्किटभित्र पनि थुप्रै रुटहरु छन् । यसमध्येको एक हो, मार्दी हिमाल बेसक्याम्प रुट । यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल देखिन्छन् । साथै, हरियाली जंगल तथा स्थानीय बस्तीहरु समेत अवलोकन गर्न पाइन्छ । यो करिब एक हप्तामा सम्पन्न हुने ट्रेकिङ रुट कास्कीको काँडेबाट यो ट्रेकिङ रुट सुरु हुन्छ ।

काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ र त्यसपछि फरेष्ट क्याम्प । फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ लागिन्छ । बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ । यो ट्रेकिङ रुटको अन्तिम होटल पनि हाइक्याम्पमा छ । त्यस दिन यहीँ बास बस्नुपर्छ ।

रातभर थकाई मारेपछी अर्को दिन बिहानै मार्दी बेसक्याम्पका लागि यात्रा बढाउनुपर्छ । बेसक्याम्प पुग्न करिब ४ घण्टा लाग्छ । मार्दी बेसक्याम्पमा चिसो हावा चल्ने हुँदा केहीबेर बसेर पुनः हाइक्याम्प फर्किनुपर्छ ।