विज्ञान प्रकृति (म्याटर) र ऊर्जा अथवा शक्तिको पछाडि हुने नियमहरूको अध्ययनको नाम हो । खासगरी प्रकृतिमा हुने रूपान्तरण, प्रकारान्तरण वा परिवर्तन र त्यसको गुण, प्रभाव अथवा प्रयोग र तिनमा हुने, भइरहने क्रिया–प्रतिक्रियाको अध्ययन–अनुसन्धान, परीक्षण तथा प्रयोग गर्ने विधिको नाम नै विज्ञान हो ।
आज विज्ञान प्रविधिको क्षेत्रमा भएकोे अभूतपूर्व प्रगतिका कारण सिङ्गो विश्व एउटा सानो गाउँ अर्थात् ‘ग्लोबल भिलेज’ मा परिणत हुन पुगेको छ । हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहज रूपमा पुग्न सक्ने भएका छौँ । टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौँ । वातानुकूलित यन्त्रको आविष्कारले गर्दा हामी घरभित्र कोठामै बसेर मौसमी तातो वा चिसोबाट बच्न सक्ने भएका छौँ ।
विशेषगरी सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले गर्दा हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्तिसँग घरको एउटा सानो कोठामा बसेर प्रत्यक्ष कुराकानी अथवा सन्देश आदान प्रदान गर्न सक्ने भएका छौँ । मोबाइल, टेलिफोन, इन्टरनेट, भाइवर आदि जस्ता सञ्चार प्रविधिको विकासले गर्दा हाम्रो सूचना र सञ्चार प्रणाली अत्यन्त सहज र सुलभ हुन पुगेको छ ।
त्यसैगरी धर्मको अर्थ हुन्छ ‘धारणा’ । जीवनमा यस्तो नैतिक मूल्यको धारणा, जसबाट हाम्रो कर्म श्रेष्ठ होस् र त्यो श्रेष्ठ कर्मको सकारात्मक सन्देश हामी आफ्नो सामाजिक जीवनमा पनि फैलाउन सकौँ । त्यसैले धर्म मनुष्यको जीवनमा कुनै असल नियम, असल गुण वा असल विचार एवं दृष्टिकोण अपनाउनेलाई भनिन्छ । धर्मले नै हामीलाई गलत कर्मबाट बचेर रहने शिक्षा दिन्छ । मनुस्मृतिमा धर्मको दस वटा लक्षणहरूबारे स्पष्ट रूपमा उल्लेख गरिएको पाइन्छ जस्तै – धृति, क्षमा, दमोस्तेयं शौचमिन्द्रियनिग्रहः धीर्विद्या सत्यमक्रोधो दशकम् धर्म लक्षणम् । अर्थात् धैर्य, विद्या, सहनशीलता, क्षमा, इन्द्रिय निग्रह, अस्तेय वा चोरी नगर्नु, क्रोध नगर्नु, पवित्र रहनु, मनलाई दमन गर्नु वा मनलाई वशमा राख्नु, अहस्तक्षेप वा अरूको काममा हस्तक्षेप नगर्नु । यी धर्मका दस आधारभूत लक्षणहरू हुन् । त्यसैले संसारमा जति पनि धर्म छन्, तिनको एक प्रमुख उद्देश्य भनेको मनुष्यको असल चरित्र निर्माण गर्नु नै हो । यसको अलावा धर्मको लक्ष्य मनुष्यको संस्कार तथा व्यवहारलाई सुधार गर्दै उसलाई समाजका लागि एक जिम्मेवार र उपयोगी नागरिक बनाउनु पनि हो । उसको नैतिक–चरित्रिक उत्थान गर्दै उसलाई एउटा असल मानवत्वको दर्जामा पुर्याउनु पनि हो । यद्यपि धर्मको विकृत स्वरूप भने मानव समाजका लागि हानिकारक पनि हुन्छ । विगत केही शताब्दीहरूमा धर्मको नाममा जुन किसिमका साम्प्रदायिक दङ्गा अथवा युद्धहरू भएका छन् त्यसले गर्दा जनमानसमा धर्मप्रति एक किसिमबाट वितृष्णा बढेको
पनि देखिन्छ ।
त्यसैले धर्मलाई आ–आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्ने र आफ्नै धर्मलाई मात्र ठूलो ठानी अरूको धर्मलाई गौण मान्ने जुन किसिमको चलन वा प्रवृत्ति छ त्यसलाई परित्याग गर्नै पर्छ ।
वास्तवमा धर्म होस् वा विज्ञान, दुवैको मुख्य उद्देश्य भनेको मानव जीवनलाई सुखी र समृद्ध बनाउनु नै हो । विज्ञानले मानवीय इच्छाहरूको परिपूर्ण गर्ने साधनको खोजी गर्छ भने धर्मले मनुष्यको अनियन्त्रित इच्छा आकाङ्क्षाहरूलाई सन्तुलित राख्ने यत्न गर्छ । अतः हामी भन्न सक्छौँ कि धर्म र विज्ञान परस्पर विरोधी होइनन् । बरु यी दुवै एक अर्काका परिपूरक हुन् र दुवै मानव हित र कल्याणका लागि आवश्यक छ । विज्ञान भौतिक सुखका लागि आवश्यक छ भने धर्म शान्ति र शुद्ध आचरणको लागि । त्यसैले धर्म र विज्ञान मानिसका लागि दुई जोडी आँखा जस्तै हुन् । समाजका लागि पनि धर्म र विज्ञान दुवै आवश्यक छन् ।
विज्ञान आफैँले नराम्रो होइन तर यान्त्रिक विकास सँगसँगै मानवीय भावना विलुप्त हुँदै जानुका कारण भने यसको सही उपयोगमाथि प्रश्न उठिरहेको छ । प्रविधिको उपयोग रचनात्मक कार्यहरूमा भन्दा पनि अहिले विनासकारी कार्यकै लागि बढी उपयोग हुने गरेको छ । आज चारित्रिक मूल्य, नैतिक आचरण या धार्मिक मर्यादाहरूले आफ्नो महŒव गुमाउँदै गइरहेको छ । जसको परिणाम, मनुष्यको सुख–सुविधाको लक्ष्यलाई लिएर अगाडि बढिरहेको विज्ञानले पनि आज विनासका लागि पर्याप्त सामग्री तयार पारिरहेको छ ।
अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । किनकि आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।
आज विज्ञान र प्रविधिको उच्चतम विकास गरी भौतिकवादी दृष्टिकोण अपनाइरहेका विकसित मुलुकहरूमा पनि जुन किसिमको हिंसा, कलह र अशान्ति मडारिंदै गइरहेको छ र यसबाट सामाजिक मूल्य मान्यताहरूमा समेत क्रमिक रूपमा ह्रास आइरहेको छ त्यो धर्म र आध्यात्म ज्ञानकै कमीको कारणले गर्दा हो । यसले विज्ञान प्रविधिले गरेको विकास र उपलब्धिलाई मानव हितमा यथोचित रूपले उपयोग गर्न नसकिएको यथार्थलाई नै उजागर गर्छ ।
त्यसैले धर्म र अध्यात्म ज्ञानको माध्यमबाट नै आधुनिक विश्वजगत्मा भएको विज्ञान र प्रविधिको उपलब्धिलाई सही रूपमा उपयोग गरी मानव हित र कल्याणमा लगाउन अभिप्रेरित गर्न सकियो भने नै हामी मानव र विश्व कल्याणका लागि सकारात्मक योगदान पु¥याउन सक्तछौँ । यसका लािग विज्ञानसँग धर्म र अध्यात्मको समन्वय गर्नु वर्तमान सन्दर्भमा अति नै आवश्यक देखिन्छ । हैन भने आज जुन विज्ञान प्रविधिको विकास र उपलब्धिलाई लिएर हामी गर्व गरिरहेका छौँ भोलि त्यही नै हाम्रा लागि विनाशको प्रमुख कारक पनि बन्न सक्तछ । अहिले विश्वभरि भयावह रूपमा देखा परिरहेको कोरोनाको महामारीलाई पनि हामीले यसै सङ्केतको रूपमा लिनु युिक्तसङ्गत होला कि ?

(लेखक नास्टका निवृत्त अधिकृत हुनुहुन्छ ।) 

राजेशमान के.सी.
थप जानकारी