एसिया प्रशान्त क्षेत्रमा अष्ट्रेलियापछि लोकप्रिय बन्दै गएको न्युजिल्याण्डले कोरोनाका कारण लामो समयदेखि जारी राखेका प्रतिबन्ध क्रमशः खोल्दै जाने भएको छ।

करिब पाँच हजार नेपाली विद्यार्थी रहेको न्यूजिल्यान्ड राम्रो शैक्षिक गन्तव्य बन्दै आएको छ।

कोभिडको प्रभाव देखाउँदै न्यूजिल्याण्डले झण्डै २ वर्षदेखि आफ्नो अन्तर्राष्ट्रिय सिमा बन्द गरेको छ। विश्वमा कोरोनासँग लडिरहेका अन्य विकसित मुलुकको तुलनामा न्युजिल्यान्ड निकै सुरक्षित बन्दै आएको छ। लामो समय सिमा नाका नखुल्दा पछिल्लो दुई वर्षदेखि विद्यार्थी, पर्यटकलगायत न्युजिल्यान्ड जान पाएका छैनन्।
यसैबीच न्युजिल्यान्ड सरकारले विभिन्न पाँच चरणमा आफ्नो सिमा खोल्ने निर्णय सार्वजनिक गरेको छ। जस अनुसार विदेशी विद्यार्थीका लागि आगामी अप्रिलमा ५ हजारलाई प्रवेश दिने र त्यसपछि अक्टोबरमा मात्रै सिमा खोल्ने बताइएको छ।

लामो समयदेखि भिसा लागेका विद्यार्थी न्युजिल्यान्डको सीमा खोल्ने विषयमा निकै आतुर थिए। सरकारको पछिल्लो निर्णयले विद्यार्थीलाई केही राहत मिलेको छ।

अकल्यान्डस्थित नेपाली समाजका अगुवा विनोद आचार्यले अस्ट्रेलिया, अमेरिका र बेलायतले अन्तर्राष्ट्रिय विद्यार्थीको लागि ढोका खुल्ला गरे पनि न्युजिल्यान्डले नखोल्दा यसको विरोध गर्नेलाई केही राहत हुने बताए।
न्युजिल्यान्ड सरकारको नयाँ योजना अन्तर्गत फेब्रुअरी २७ देखि पूर्ण मात्रा खोप लगाएका न्युजिल्यान्डका नागरिक र पीआर धारीलाई अस्ट्रेलियाबाट फर्कन दिइनेछ।

मार्च १३ पछि संसार भरका पूर्णखोप लगाएका नागरिक र पीआरलगायत दक्ष कामदारका लागि बोर्डर खोलिने छ।

यस्तै अप्रिल १२ पछि भिसा लागेर बसेका पाँच हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई ल्याइनेछ। जुलाईदेखि अस्ट्रेलियालगायतका भिसा नचाहिने देशका नागरिकलाई न्युजिल्यान्ड प्रवेश खुल्ला गरिनेछ।

यस वर्षको अक्टोबरमा अन्तर्राष्ट्रिय विद्यार्थी तथा पर्यटकलगायत अन्य भिसाधारीलाई न्युजिल्यान्ड प्रवेश खुला गरिने भएको छ।