हेटौंडा । गजल मञ्च मकवानपुरको २१० ओैं गजल यात्रा तथा नवसर्जक केन्द्रित शृङ्खला सम्पन्न भएको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदनमा शनिबार गजल वाचनका साथ गजल प्रशिक्षण भएको हो ।

कार्यक्रममा मकवानपुरका गजलकार र नवोदयमा विद्यार्थीले गजल वाचन गर्नुका साथै नवोदयमा अध्ययनरत इच्छुक विद्यार्थीलाई गजल लेखनको सैद्धान्तिक र प्राविधिक पक्षबारे प्रशिक्षणसमेत प्रदान गरिएको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित साहित्यकार, गीतकार तथा गजलकार पुरुषोत्तम आचार्यले गजल लेखनबारे विद्यार्थीलाई प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा गजलकारहरु सानुबाबु खनाल, मसान उपासक, देवराज तिवारी, यश लामा, नरेन्द्रकुमार नगरकोटी, सञ्जीत श्रेष्ठ, हरिप्रसाद पौड्याललगायतले गजल वाचन गरेका थिए । कार्यक्रममा नवसर्जकहरु विदुषी हुमागाईं, सुविष्मा दाहाल, ओशिका सुवेदी र अग्रिम लम्सालले गजल वाचन गरेका थिए । मञ्चले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्ने गरेको छ भने विभिन्न विद्यालयमा नवसर्जक केन्द्रित शृङ्खला सञ्चालन गर्दै गजल प्रशिक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।