हेटौंडा । झरना साहित्यिक परिवारले आगामी फागुन महिनामा आयोजना गर्ने ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव–२०८० मा ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँकी डा. गीता त्रिपाठी सम्मानित हुने भएकी छिन् । उनलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । त्यस्तै साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापना गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान खोटाङका बाबुराम पोखरेललाई प्रदान गरिने भएको छ । पोखरेललाई साहित्यको मुक्तक विधामा योगदान पुर्याए वापत नगद १५ हजार ५ सय ५५ सहित सम्मानित गरिने छ ।

मकवानपुरका साम्ब ढकाललाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापना गरेको पुरस्कारबाट जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत उनलाई सम्मान गर्ने भएको हो । उक्त पुरस्कार राशी नगद १५ हजार ५ सय ५५ रहेको छ ।

त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापना गरेको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट स्याङ्जाका मिलन समिर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट बिमला कार्की, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटा र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेको खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट बासुरीवादक बिष्णु घतानीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।

त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई प्रदान गरिने भएको छ । यो पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन । पत्रकारिताको माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएको भन्दै पत्रकार रामकुमार एलनलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको हो । उक्त सम्मानको राशी नगद ११ हजार १ सय ११ रहेको छ । उक्त पुरस्कार गौतमका माता नन्ददेवीले स्थापना गरेका हुन ।

झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० फागुन ११ र १२ गते बकैया–९, शिखरपुरमा हुने सचिव उपासकले जानकारी दिए । कालीदेवी माविमा हुने कार्यक्रमको पहिलो दिन रचना वाचन र चित्रकला प्रतियोगिता हुनेछ ।