रत्ननगर, चितवन । चितवनको रन्ननगर नगरपालिका–१६ हात्तिगाडे टोलकी बिजु थापा गृहिणी हुन् । घरधन्दाका कामसँगै निर्वाहमुखी पशुपालन र कृषि पेशा गरिरहेकी उनी केही समययता घरको कामभन्दा पनि बाख्राको स्याहारसुसारमै व्यस्त देखिन्छिन् ।

एक वर्षयता व्यवस्थित खोर निर्माण गरी ८ वटा माउ बाख्रा पाल्न सुरु गरेकी बिजुको खोरमा अहिले सानोठूलो गरी २३ वटा बाख्रा भएका छन् । बाख्रा पाल्न सुरु गरेको एक वर्षकै अवधिमा धेरै पाठापाठी जन्मेर हुर्कँदै गर्दा उनीमा व्यावसायिक बाख्रापालनको सोच विस्तार भएको छ । घरधन्दाको काम बुहारीलाई जिम्मा लगाएर उनी पति र छोराको पनि साथ लिएर बाख्राकै स्याहारसुसारमा व्यस्त बन्न थालेकी छन् । बारीमा भुईघाँस र डालेघाँस पनि रोपेकी छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौंडाले बाख्रापालनमा अनुदान दिएसँगै थापासँगै १६ परिवार गृहिणीहरुको दैनिकी बदलिएको छ । खोर निर्माण र माउबाख्रा खरिदका लागि आयोजनाले ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि त्यहाँका गृहिणीहरु व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । १६ परिवारले करिब ६४ लाख रुपैयाँको लगानी सुनिश्चित गरेसँगै आयोजनाले ५० प्रतिशत रकम अर्थात करिब ३२ लाख रुपैयाँ तीन किस्तामा अनुदान उपलब्ध गराएको हो ।

‘पहिला पनि हामीहरु घरधन्दाका साथ २–४ वटा बाख्रा पाल्दै आएका थियौं । अहिले अनुदानबाट व्यवस्थित खोर निर्माण भएसँगै हामीले पनि लगानी थपेर धेरै बाख्रा पाल्न थालेका छौँ । राम्रै आम्दानी होला जस्तो देखिएको छ ।’ थापाले भनिन् । प्रगतिशील बाख्रापालन समूहमार्फत व्यवस्थित बाख्रापालन सुरु भएसँगै गाउँका गृहिणीहरु धरधन्दाका साथ बाख्राको स्याहारसुसारमा पनि व्यस्त बनिरहेका छन् ।
प्रत्यक खोरमा ८/८ वटा बाख्रा राखेर स्याहार सुसार गर्न थालेका गृहिणीहरुको खोरमा अहिले २५ वटासम्म बाख्रा रहेको समूहकी अध्यक्ष ईश्वरी सिंखडाले बताइन् । ‘निर्वाहमुखी बाख्रापालनबाट सबैजना व्यावसायिकतर्फ अघि बढेका छन् । टोलभरी नै बाख्रापालन सुरु भएपछि पहिचान नै बनेको छ । बोकाबाख्रा खोज्न घरघरै मानिसहरु आउन पनि थालेका छन् ।’ अध्यक्ष सिंखडाले भनिन् । बाख्रापालनलाई निरन्तरता दिनको लागि नगरपालिकाबाट थप अनुदानहरु माग गर्ने तथा तालिमहरुको माग गर्ने योजनामा रहेको अध्यक्ष सिंखडाले बताइन् । उत्पादित खसीबोकाहरु समूहले काटेर मासु बिक्री गर्ने योजना बनाई अघि बढिरहेको पनि उनले बताइन् ।

बाख्रापालनको लागि अनुदान पाएपछि व्यवस्थित खोर बनाई बाख्रा पाल्न थालेकी लक्ष्मी बुढाथोकी पनि खोरभरी बाख्रा देखेर खुसी छन् । ‘पाठाहरु हुर्कँदैछन् । जाडो महिनामा जन्मिएका थिए । अब केही महिनापछि बेच्ने बेला पनि हुन्छ । परिवारका तीन जना बाख्रा र गाई पनि पाल्ने काम गरिरहेका छौँ ।’ बुढाथोकीले भनिन् । ८ वटा बाख्राबाट सुरु गरेकी उनको खोरमा अहिले सानाठूला गरी १७ वटा बाख्रा रहेका छन् ।

संघीय कृषि तथा पशुपंक्षी मन्त्रालय मातहत रहेको आयोजनाले २०७४/०७५ देखि दूध र मासु उत्पादनलाई केन्द्रित गरी काम गरिरहेको छ । विश्व बैंकको ऋण अनुदानमा सञ्चालित आयोजनाले आव २०७९/०८० सम्म नेपालका ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरुमा काम गरेको छ । दूध, खसीबोकाको मासु र पश्मिनाको उत्पादकत्व र उत्पादन वृद्धि गर्ने, दूध, खसीबोकाको मासु र पश्मिनाजन्य पदार्थको मूल्य अभिवृद्धि गराउने, पशुपालन क्षेत्रमा थप लगानी आकर्षित गराउनेलगायतका उद्देश्यले आयोजनाले व्यावसायीकरण र यान्त्रीकरणमा अनुदान दिने गरेको छ ।

२०८० असार मसान्तसम्मको समयसिमा निर्धारण गरेको आयोजना सम्पन्न भइसक्दासम्म गाई र भैसीको दूधमा ४०% बृद्धि हुने, खसी–बोकाको मासु उत्पादनमा २०% बृद्धि हुने, उत्पादित दूध, मासु र पश्मिनाको बिक्री ३०% ले बढ्ने अपेक्षा राखेको छ । आयोजनामातहत चार वटा विकेन्द्रिकृत आयोजना सहयोग इकाईहरु रहेका छन् । जसमध्ये हेटौंडामा रहेको विकृन्द्रिकृत सहयोग ईकाइले बागमतीका ४ र मधेश प्रदेशका ३ वटा गरी ७ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको ईकाई प्रमुख गौतमले बताए । उनका अनुसार हाल ईकाई मातहत ६९ वटा समूह सहकारीतर्फका उपआयोजनाहरु सञ्चालनमा छन् भने निजीतर्फ ३९ वटामा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

पत्रकार केशव समर्पणले तयार पारेको समाचार सामाग्री ।