हेटौँडा । किसानको साथीका रूपमा परिचित सालकको संरक्षणमा सक्रिय हेटौँडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले गाउँमा भेटिएको बच्चासहितको सालकलाई सुरक्षित रूपमा वन क्षेत्रमा छाडेको छ।

मकवानपुरगढी गाउँपालिका–३ निवासी मनिष देवकोटाले आज बिहान करिब २ बजे घर नजिकै बच्चासहितको सालक फेला पारी इलाका प्रहरी कार्यालय, मकवानपुरगढीमा बुझाएका थिए। उक्त सालकलाई पछि रानी सामुदायिक वनको ब्लक नं. ६ मा निर्माण गरिएको विशेष ‘सालक केज’मा स्थानान्तरण गरिएको हो।

सालक छाड्ने क्रममा हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, सव–डिभिजन वन कार्यालय हेटौँडाका वन अधिकृत बच्चुराम सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो।

रानी सामुदायिक वनले २०६२ सालदेखि सालक संरक्षण अभियान सञ्चालन गर्दै आएको छ। वन क्षेत्रमा सालकसम्बन्धी जनचेतनामूलक कार्यक्रम, तालिम, विद्यालयस्तरीय अभियान, मूर्ति स्थापना तथा होडिङ बोर्ड निर्माण जस्ता गतिविधि निरन्तर सञ्चालन गरिँदै आएका छन्।

समूहका अनुसार उक्त वन क्षेत्रमा हाल करिब पाँच दर्जन सालक संरक्षणमा रहेका छन्।

भीमसेन पौडेल
थप जानकारी