हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं २ शिखरकटेरीमा इजरायलबाट फर्केर सन्दिप कुमार सापकोटाले पशुपालन गरिरहेका छन । कृषि सहकारी मार्फत कृषि तालिमका लागि छनौट भएर उनी सन् २०१८ मा इजरायल पुगेका थिए । इजरायलबाट कृषि विज्ञानको ज्ञान लिएर नेपाल फर्किएपछि सापकोटाले व्यवसायीक पशुपालन कर्म सुरु गरेका हुन ।

सन् २०१३ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर फर्केका सापकोटाले खाद्यान्न, यातायात, स्टेशनरी र प्लाष्टिकजन्य व्यवसाय पनि गरे । अन्य व्यवसायमा सफल हुन नसकेपछि उनी कृषि तालिमका लागि इजरायल पुगेका थिए । इजरायलबाट फर्केपछि उनले कृषिलाई राजे र पशुपालन थाले ।

३१ बर्षीय सापकोटाले शक्ति पाथिभरा मल्टिप्रपोज प्रालि मार्फत व्यवसायिक रुपमा तीन विगाह क्षेत्रफलमा पशुपालन तथा घाँसखेती गरेका छन । उनको फार्ममा गाई, भैंसीका साथै उन्नत जातको पाडापाडी पनि पालन गरिएको छ । दैनिक ७० लिटर सम्म दूध उत्पादन गरेका सापकोटाले मासिक दुई लाख ४० हजार सम्म आम्दानी गरिरहेका छन ।

‘मेरो फार्ममा उत्पादन भएको दुध हेटौँडा बजारको दुइवटा डेरीमा दिने गरेको छु, गाउँ नजिकैको दुग्ध सहकारीमा विक्री गर्दा प्रति लिटर ७० सम्म मात्रै पाउँछु, बजारको डेरीमा बिक्रीगर्दा प्रतिलिटर ११५ रुपियाँ पाउँछु,’–सापकोटाले भने । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निवासमा पनि दैनिक चार लिटर सम्म दुध पु¥याउने गरेको उनले बताए । फार्ममा उत्पादन भएको दूध बजारसम्म पु¥याउन स्कुटरमै दूध लैजाने गरेका सापकोटाले उत्पादन बढाएपछि गाडी किन्ने योजना बनाएका छन ।

पशुपालनमा रमेका सापकोटालाई अहिले भ्याई नभ्याई छ । उनको दिनचर्या अधिकांश समय गोठमै बित्ने गरेको छ । उनको फार्ममा अहिले सातवटा भैंसी, पाडापाडी ११ वटा, गाई १ वटा र बाच्छाबाच्छी ५ वटा रहेको छ । विगत दुइबर्षदेखि पशुपालन व्यवसायमा लागेका सापकोटाले होलस्टेन क्रस गाई एक लाख २० हजार र होलस्टेन, जर्सी र लोकल क्रसको बाच्छाबाच्छी प्रति दश हजारका दरले खरिद गरेर पालन गरिरहेका छन । त्यस्तै उनले ३ वटा मुर्रा क्रस एक लाख ४० हजारका दरले र उन्नत जातको पाडापाडी पालन गरेका छन ।

घाँसमा आधारित पशुपालनको लागि सुपर नेपियर र अन्य जातका घाँस लगाएको छु, यो घाँसले दूध उत्पादन पनि बढाउँछ । सार्न पनि सजिलो र जहाँ पनि हुने भएकाले बाँझो जग्गाको पनि सदूपयोग हुने उनको बिश्वास छ । हरियोघाँस, साइलेज बनाउँन र सुकाएर पनि प्रयोग गर्न सकिने भएकाले कृषिमा लागत घट्ने उनले बताए ।

‘कृषि पेशामा रुचि भएर लागेको हुँ, सानैदेखि कृषिको क्षेत्रमा केही गर्छु भन्ने लागेको थियो, अहिले पशुपालक किसान बन्न सकेको छु’ –सापकोटाले भने । उनले फार्ममा बस्तुको गोवरबाट ब्रिगेट बनाउन अध्ययन समेत गरिरहेका छन । भबिष्यमा बदेल पालनका लागि संरचना पनि तयार गरेका छन । सरकारले जंगली जनावर पनि पाल्न पाउनेगरी कार्यविधि निर्माण गरेकाले उहाँले जंगली जनावर पालनको तयारी गरेका हुन ।

किसान, कृषि क्षेत्र र युवाका उचित नीति निर्माण नहुनु र बनेका नीति पनि सही ढंगले कार्यान्वय नहुँदा समस्या रहेको उनले बताए । ‘प्राविधिक ज्ञान र उन्नत जातको पशुको अभाव छ, नेपालमा किसानले दैनिक ४/५ लिटर दूध दिने गाई पालिरहनुभएको छ, इजरायलमा हुँदा एकैपटक ३२ लिटर सम्म दूध दिने गाई देखें’–उनले भने ।

करिव ७० लाख लगानीमा दुइ वटा आधुनिक टहरा, आवास सहितको संरचना निर्माण गरेका सापकोटाले केही रकम बैकबाट पनि ऋण लिएका छन । उनको पशुपालन फार्ममा दुइ जनाले रोजगारी समेत पाएका छन । कृषि तथा पशुपालनका लागि भौतिक पूर्वाधार, विजुलीको भोल्टेजको कमि, खानेपानीको व्यवस्थापन र उचित प्राविधिक जानकारीको अभावमा भने समस्या झेल्नुपरेको उनको भनाई छ ।

निराशाका बिचमा पनि आशाको किरण खोज्दै पशुपालनलाई मुख्य व्यवसाय बनाएर कृषि कर्ममा लाग्नुभएका सापकोटाले हजारौं युवालाई रोजगारी दिनेगरी सरकारले कृषि, पशुपालनलाई प्राथमिकता दिन सके स्वदेशमै रोजगारी पाउने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय कृषिगणना २०७८ अनुसार नेपालमा उन्नत जातको पशुचौपाया पाल्ने चलन बढ्दै गएको पाईएको छ । पछिल्लो कृषिगणना अनुसार २०७८ मा ७ प्रतिशत गाई/गोरु र ५ प्रतिशत राँगा/भैंसी उन्नत जातका रहेका छन । बागमती प्रदेशमा सबैभन्दा बढी उन्नत गाईगोरु र राँगाभैंसी पालिने गरेको छ भने चितवनमा उन्नत गाईगोरु एवं राँगाभैंसी कास्की जिल्लामा पालन हुने गरेको छ । पछिल्लो कृषिगणना २०७८ अनुसार नेपालमा ३४ लाख ५ हजार अर्थात ८२ प्रतिशत कृषक परिवारले पशुचौपाया पालन गरेका छन ।

अनिल पराजुली
थप जानकारी