हेटाैडा । मकवानपुरको मनहरी गाउँपालिकाले कार्यसम्पादन मूल्यांकनको आधारमा विद्यालयका प्रधानाध्यापकलाई वार्षिक प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि प्रधानाध्यापकलाई प्रोत्साहन कार्यक्रम ल्याएको हो ।

बिहीबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी प्राथमिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । कार्यसम्पादन मुल्याङ्कनमा ४० देखि ६० प्रतिशत अंक ल्याउनेलाई २० हजार, ६० देखि ८० प्रतिशतलाइ २२ हजार र ८० देखि १०० प्रतिशत कार्यसम्पादन अंक प्राप्त गर्नेलाई २४ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइने शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले बताए । ४० प्रतिशतभन्दा कम अंक ल्याउने विद्यालयका प्रधानाध्यापकले कुनै पनि रकम नपाउने बताइएको छ । गाउँपालिकामा १८ वटा प्राथमिक विद्यालयहरु छन् । विद्यालयले विभिन्न १५ वटा बुँदाहरुमा स्वमुल्याङ्कन गरी पठाएको विवरणको आधारमा प्रोत्साहन रकम वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए ।

प्रध्यानाध्यापकले बार्षिक शैक्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण गर्नुपर्नेछ । साथै विद्यालय सुधार योजना निर्माण गर्नुपर्ने, प्रत्येक आर्थिक वर्षको लेखापरिक्षण र सामाजिक परिक्षण गर्नुपर्ने, सबै शिक्षकसँग शिक्षण सुधार करार गर्नुपर्ने, विद्यार्थी शिक्षक विवरण इएमआइएसमा भर्नुपर्ने, विद्यालयको समग्र नतिजा विश्लेषण गर्नुपर्ने लगायतका कार्यका आधारमा कार्यसम्पादन अंक प्राप्त हुनेछ । साथै प्रअको उपस्थिति, शिक्षक विद्यार्थीको आचारसंहिता तयार र विद्यार्थीको आन्तरिक मुल्यांकनका आधारमा पनि कार्यसम्पादन अंक प्राप्त गर्ने सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष कालाखेती र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको रोहबरमा शिक्षा शाखा प्रमुख पराजुली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबिच कार्यसम्पादन सम्झौता गरिएको हो ।