हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२, धेत्रेदमारको काला भैरव प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत धेत्रेका विकास विकलाई बर्खा लागेपछि पढाई छुट्ने चिन्ता हुन्छ । विद्यालय जान कापी, किताब तयारी अवस्थामा राखेपनि पानी परेपछि विद्यालय जान नसक्दा उनलाई पढाई छुट्ने चिन्ता सधैँ रहन्छ ।

बर्खा लागेपछि प्रत्येक वर्ष यहाँका विद्यार्थीहरूलाई विद्यालय पुग्न कठिन छ । उनीसँगै पढ्ने साथीहरूको पनि उस्तै चिन्ता छ । कक्षा ३ मा अध्ययनरत अजिङ्गरेका बिनिसा जिम्वा र कक्षा २ मा अध्ययनरत चुवार पाखाका विकास भ्लोनलाई पनि बर्खा लागेपछि विद्यालय जान र साथीहरू भेट्न नपाउने चिन्ताले पिरोल्ने गरेको छ । पानी परेपछि कक्षा २ मा अध्ययनरत धेक्रेका विक्रम स्याङतान, कक्षा १ मा अध्ययनरत विवेक स्याङतान र बाल विकास कक्षामा अध्ययन गर्ने मुना विक सबैको पढाई छुट्ने गरेको छ । भौगोलिक विकटता र पानी परेपछि विद्यार्थी नियमित अध्ययन गर्न आउन नसकेको विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलले बताए ।

सिमात खोलाको शिरानबाट आएको धेत्रे खोलामा पुल नहुँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन । पानी परेपछि विद्यालय जान शिक्षक, शिक्षिका, विद्यार्थी सबै वारीतर्फ नै रोकिनुपर्ने बाध्यता छ । “खोला सानो हुँदा कहिले अभिभावक त कहिले शिक्षकले नै विद्यार्थीलाई तारेर वारीबाट पारी विद्यालयमा लगिदिनुहुन्छ,” विद्यालयका प्रअ घलेले भने, “बकैया–१२ गोदाम डाँडा निवासी कार्यालय सहयोगी कविता लिम्बु बर्खा लागेपछि १० बजेअघि खोलामा पुग्नुहुन्छ, विद्यार्थीलाई खोला तरेर लैजानुहुन्छ ।”

“विद्यार्थीका अभिभावकले बर्खाको बेला बच्चा पठाएपछि फोन गर्नुहुन्छ,” प्रअ घलेले भने। कार्यालय सहयोगी खोलामा पसेर विद्यार्थीलाई तारिदिनुहुन्छ । कार्यालय सहयोगी मात्रै होइन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय घिसिङ पनि बर्खा लागेपछि बेलाबेला खोलामा पुग्नुहुन्छ । धेत्रे खोलामा झोलुङ्गे पुल नहुँदा समस्या छ, ठुलो पानी पर्दा विद्यालय वारिपारि हेरेर बस्ने काम मात्रै हुन्छ, विद्यालयका प्रअ घलेले बाध्यता पोखे ।

विद्यार्थीलाई खोला तरेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउनुपर्ने अवस्था रहेको प्रअ घलेको भनाइ छ । वर्षातमा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले सुनाए। कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने गरेको उनको भनाइ छ । स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले झोलुङ्गे पुल नहुँदा विद्यार्थी विद्यालय आवतजावत गर्न समस्या परेको पालिका तथा वडालाई जानकारी गराए पनि झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरूको गुनासो छ ।

यता बकैया-१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले वडामा सामान्य बजेट हुने हुँदा वडा तहबाट पुल निर्माण गर्न नसकेको बताबताए ।  विभिन्न गैर सरकारी संस्थाले विद्यालय जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिने प्रतिबद्धता र बचन दिएपनि कसैले पनि कार्यान्वयन नगरेको उनको भनाइ छ । “पुल नहुँदा विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ, समस्या समाधान गर्न पालिकासँग पनि समन्वय गरेको हुँ, तर समस्या समाधान गर्न सकिएको छैन”, उनले भने।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले राडो नेपाल नामक संस्थाले पुल निर्माण गरिदिने प्रतिबद्धता जनाएपनि प्रक्रियागत समस्याले संस्थाले यस आवमा पुल निर्माण गर्न नसक्ने भएको जानकारी दिए । पुल निर्माणका लागि सम्बन्धित ठाउँमा कर्मचारीले पुरानो फाइल पठाइदिँदा पुल निर्माण कार्य प्राथमिकतामा पर्न नसकेको उनको भनाइ छ । पालिकास्तरबाट प्रदेशका सम्बन्धित मन्त्रालयहरूसँग आग्रह गरिएपनि खासै चासो र प्राथमिकता नदिएको उनको गुनासो छ ।

२०७२ सालको भूकम्पले जीर्ण बनेको विद्यालय संरचना चाईल्ड रेस्क्यु नेपालको आर्थिक सहयोग इस्थर बेन्जामिन्स स्मृति संस्थाको व्यवस्थापनमा करिब एक वर्ष पहिले २ कोठे विद्यालय भवन, बालमैत्रीको खानेपानीको धारा तथा शौचालय इस्थर बेन्जामिन्स मेमोरियल नामक संस्थाले निर्माण गरिदिएको थियो । २०५३ सालमा प्लान नेपालले स्थापना गरिदिएको यस विद्यालय २०६१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालनमा रहेको छ ।

विद्यालयमा हाल २३ जना विद्यार्थी अध्ययनरत छन् । बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अंजिगरे लगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्छन् । बाल विकासदेखि ३ सम्म अध्ययन गरेपछि यहाँका विद्यार्थीहरू कान्ति मावि ठिंगन, कालिदेवी आधारभूत विद्यालय र श्री प्रावि कोलखोपमा जाने गर्छन् । तामाङ र दलित समुदायको बाहुल्यता, भौगोलिक विकटता रहेको यस क्षेत्रमा बिचैमा पढाई छाड्ने समस्या पनि विद्यमान छ ।

गोरखापत्रबाट साभार