हेटौंडा । प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न मकवानपुरको बागमती गाउँपालिका वडा नं. ९ बेतिनी अधेँरीमा दुना टपरी उद्योग सञ्चालन गरिएको छ । न्यूनआय र विपन्न वर्गलाई आयआर्जनसँग जोड्ने उद्देश्यले दुना टपरी उद्योगको शुभारम्भ गरिएको हो ।

डिभिजन वन कार्यालय मकवानपुरको आर्थिक सहयोगमा दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहलाई दुना टपरी उद्योगका लागि प्रविधि हस्तान्तरण गरिएको छ । स्थानीयको जिविकोपार्जनमा थप टेवा पुगोस् भन्ने उद्देश्यले करिव ४ लाख ३८ हजार बराबरको दुना टपरी बनाउने मेशीन सहयोग गरिएको हो ।

‘वन क्षेत्रमा प्रशस्त मात्रामा पाईने र बर्सेनी वन डढेलोको कारण डढेर खेरजाने सालको पातको उपयोग गरि रोजगारी सिर्जना गर्न सकिने भएको छ’–डिभिजन वन अधिकृत पुष्पराज बर्तौलाले भने । दुना टपरी उद्योगले स्थानीयको आयआर्जन वृद्धि र सामुदायिक वनमा उद्यम प्रवर्द्न गर्न थप टेवा पुग्ने उनको विश्वास छ

स्थानीयस्तरमा उपलब्ध सालको पात प्रयोग गरेर उत्पादन गर्न सकिने दुना टपरी उद्योगले सामुदायिक वनमा उद्यम विकास गर्न र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतमले बताए । प्लाष्टिकको दुना टपरी निरुत्साहित गर्न र यहाँका स्थानीयलाई आयआर्जनसँग जोड्न उद्योगको लागि प्रविधि हस्तान्तरण गरिएको उनको भनाई छ । प्लाष्टिकजन्य सामानहरुको प्रयोगमा कमि ल्याउने नीति बनिरहेको सन्दर्भमा यस किसिमको सामानको बजारको सम्भावना बलियो रहेको उनको भनाई छ ।

अधिकांश भोजभतेरमा प्लास्टिकबाट बनेका सामग्री प्रयोग हुन थालेपछि त्यसलाई विस्थापित गर्न दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदम बहादुर खिरिण मगरले बताए । पछिल्लो समय भोजभतेरमा मात्र होइन हरेकजसो चिया पसल र घरको भान्सामा समेत प्लास्टिकका गिलास, प्लेट चम्चाको प्रयोग बढ्न थालेको छ ।

प्लाटिकबाट बनेका सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा समेत कठिनाइ हुने, वातावरण पनि प्रदूषित हुने भएकाले सालको पातबाट बनेको दुना र टपरी प्रयोगमा प्रोत्साहन गर्न उद्योग सुरु गरिएको अध्यक्ष मगरको भनाई छ । ८१ हेक्टर क्षेत्रफलमा फैलिएको दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहमा ५३ घरधुरी आवद्ध रहेका छन ।

प्लास्टिकका प्लेट, गिलास, चम्चालगायतका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दा समेत त्यसबाट निस्कने प्रदूषणले स्वास्थ्यमा असर पुर्याउने हुँदा सालको पातबाट बनाइएका सामग्री प्रयोग गर्नु राम्रो हुने भएकाले जङ्गलमा खेर गइरहेका पातबाट गाउँमै दुना, टपरीलगायत उत्पादन गर्न थालिएको छ ।

प्रविधि हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गाउँ गाउँमा उद्यमशिलता बढाउनुपर्ने बताउँदै सामुदायिक वनभित्रबाट निस्कने वन पैदावरसँग सम्बन्धित विभिन्न वस्तुहरु नियमसंगत ढंगले उद्यमशिलता एवम् व्यवसायीकरण गरेर आर्थिक उपार्जन गर्न सकिने बताए । बागमती गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष पुनराम घलानले वडामा प्लाष्टिकजन्य सामाग्रीको प्रयोग घटाउँदै जाने नीति बनाउने बताए । उनले कार्यपालिका बैठकमा पालिकाभित्र प्लाष्टिकजन्य सामाग्री प्रयोगमा निरुत्साहित सालको पातबाट बनेको दुना टपरी प्रयोग गर्न प्रोत्साहित गर्ने निर्णय गरिने जानकारी दिए ।

त्यस्तै हेटौँडा–१८ मा रहेको पञ्चकन्या सामुदायिक वन समूहले आफ्नै लगानीमा दुना टपरी उद्योग सञ्चालनमा ल्याएको छ । जिल्ला वन कार्यालयसंगको समन्वयमा उद्योग सञ्चालन गरिएको हो ।

अनिल पराजुली
थप जानकारी