वलपरासीका ए.पी. सुमनले लेखेको कविताले बेला–बेला यही कवितामा भनेको पात्र जस्तै भान हुन्छ मलाई पनि आमा । सायद मलाई मात्रै हैन परदेशिएका लाखौं नेपालीहरुलाई यस्तै हुन्छ जस्तो लाग्छ आजभोली मलाई । सुमनले लेखेका प्रत्येक शब्द हृदय बिदारक र निःशब्द छन्, उनले लेखेको कविताको अशं यस्तो छ :
म भन्दा एक हप्ता अघि
मेरा जस्तै अग्ला सपनाहरु बोकेर अरव आएको साथीलाई
भर्खरै एयरपोर्ट सम्म छोडेर आएँ बा,
पहिल्यै तीनचार जना साथीहरु उसैलाई पर्खिरहेका थिए, उ जस्तै,
उसैगरी रातो बाकसभित्र‘.कता कता मलाई डर लाग्छ बा,
हप्ता दिनपछि कतै मेरो पालो आयो भने
साथीहरुसँग रमाउँदै आएको म, फर्कदा मेरो रातो बाकस
कतै एक्लै हुने त हैन ‘..
यो खाडीको तातो बालुवामा
रातो रगत बगाएर तिमीलाई रातो फरिया
आमालाई रातो साडी, छोरालाई रातै
नाना, बालाई रातै कमिज, लिएर आएँ भने त
घरको छानो पनि रातै टिनले छाउँला है प्रिया,
तर………….
रात पर्नु अगावै
तिम्रो जीन्दगीमा सधैँ ‘रातै’ पर्नेगरी
तिम्रो सिउँदोमा कहिल्यै ‘रातै’ नपर्नेगरी
म रातो‘ बाकसमा कोचिएर आएँ भने,
हर्केको छोराले झैँ मेरो छोराले पनि म भोकै मर्ने डरले
बाबा केही किनेर खानुँ है भन्दै यै रातो बाकसभित्र
सिक्काहरु खसाल्छ होला है, त्यतिबेला‘‘‘.
विन्ति मेरो फोटोमा चैँ रातो माला नलगाईदिनु ल…..
यो शब्द र भाव अहिले प्रत्येक नेपालीको तितो यथार्थ हो । वैदेशिक रोजगारीको वास्तविकता पनि हो । नेपाली समाजले वैदेशिक रोजगारका लागि महँगो सामाजिक मूल्य पनि चुकाउँदै आएको छ । हजारौं सपना बोकेर परदेशिएकाहरु प्रत्येक दिन काठको रातो बाकस (कफिन) मा फर्कन बाध्य छन् । हात हल्लाउदै बिदाई गर्न एयरपोर्ट पुग्ने गरेका परिवारहरु प्रत्येक दिन रातो बाकस बोकेर कोही पशुपतिको आर्यघाट पुग्ने गरेका छन्, त कोहीले आफ्नै घर गाउँमा पु¥याएर अन्तिम संस्कारलाई पूर्णता दिन्छन् ।

मानिसको मृत्युपछि शवलाई पातलो कपडाले ढाकिन्छ, जसलाई चलनचल्तिको भाषामा ‘कात्रो’ र हिन्दीमा कफन भन्ने गरिन्छ । यससँगै मिल्ने शब्द हो, कफिन । शवलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानुप¥यो भने बलियो काठबाट बनेको लाम्चो आकारको बाकसमा राख्ने गरिन्छ, जसलाई शवपेटिका पनि भन्ने गरिन्छ । विदेशमा मृत्यु भएका मानिसको शव जन्मभूमिमा पठाउनुप¥यो भने कफिनको प्रयोग हुन्छ ।
नेपाल सरकारले सार्वजनिक गरेको एक दशकको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारमा गएर ज्यान गुमाउने संख्या उच्च रहेको छ । वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ६ हजार ७ सय ८ जनाकोे ज्यान गएको तथ्याङ्क छ । आर्थिक बर्ष २०६५/६६ देखि आर्थिक बर्ष २०७४/७५ सम्म ३८ लाख ९८ हजार ४ सय ८९ जना वैदेशिक रोजगारमा गएका थिए, जस मध्ये ३७ लाख ६ सय ७२ पुरुष र १ लाख ९७ हजार ८ सय ७ जना महिलाहरु रहेका थिए । तथ्याङक अनुसार आर्थिक बर्ष २०६५/६६ मा वैदेशिक रोजगारमा पुरुष २ लाख ११ हजार ३ सय ७१ र महिला ८ हजार ५ सय ९४ जना सहित जम्मा २ लाख १९ हजार ९ सय ६५ गएका मध्ये ७७ जनाको मृत्यु भएको थियो ।
त्यस्तै आर्थिक बर्ष ०६६/६७ मा २ लाख ८४ हजार ३८ पुरुष र १० हजार ५६ सहित जम्मा २ लाख ९४ हजार ९४ वैदेशिक रोजगारमा गएका मध्ये ४ सय १९ जनाको मृत्यु भएको थियो । आव ०६७÷६८ मा ३ लाख ५४ हजार ७ सय १६ वैदेशिक रोजगारमा गएका मध्ये ५ सय ६६ जनाको मृत्यु भएको थियो । २०६८/६९ मा ३ लाख ८४ हजार ६ सय ६५ रोजगारमा गएका मध्ये ६ सय ४८ जनाको मृत्यु, आब २०६९÷७० मा ४ लाख ५३ हजार ५ सय ४३ रोजगारमा गएका मध्ये ७ सय २२ जनाको मृत्यु, आव २०७०/७१ मा ५ लाख २७ हजार ८ सय १४ रोजगारमा गएका मध्ये ८ सय ७७ जनाको मृत्यु भएको थियो । त्यस्तै आव २०७१/७२ मा ५ लाख २७ हजार ८ सय १४ रोजगारमा गएका मध्ये एक हजार ६ जनाको मृत्यु भएको थियो भने आव २०७२÷७३ मा ४ लाख १८ हजार ७ सय १३ रोजगारमा गएका मध्ये ८ सय १६ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यस्तै गरि आव २०७३/७४ मा ३ लाख ६३ हजार ७३ रोजगारमा गएका मध्ये ७ सय ५६ जनाको मृत्यु भएको थियो भने आव २०७४/७५ मा ३ लाख १२ हजार ७ सय ४९ वैदेशिक रोजगारमा गएका मध्ये ८ सय २१ जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्क रहेको छ ।

नेपालको सन्दर्भमा सुरुमा पुरुष कामदारहरु मात्रै जाने गरेकोमा महिला कामदारको संख्या समेत उल्लेखनीय रुपमा बढ्न थालेको देखिन्छ । आ.ब. २०६३÷०६४ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिला कामदार संख्या ३ सय ९० जना मात्र रहेकोमा १० वर्षपछि यो संख्या बढेर आ.ब. २०७३/०७४ सम्ममा कूल १ लाख ८२ हजार ७३२ पुगेको छ । वैदेशिक रोजगारीका क्रममा दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ देखि ३ जनाको शव आउने गरेको छ । कतिपय उतै दाहसंस्कार गर्ने चलन पनि छ । श्रम स्वीकृति लिएका कामदारका परिवारले मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा बोर्डबाट आर्थिक सहायता पाउँछन् ।

त्यस्तै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको स्थापनाकालदेखि २०७५ असोज मसान्त सम्म ३५ देशमा वैदेशिक रोजगारीको क्रममा ६ हजार ९ सय २१ जनाको मृत्यु भएको तथ्य छ, जस मध्य ६ हजार ७ सय ६६ पुरुष र १ सय ५५ जना महिला रहेका छन् । वैदेशिक रोजगारीको क्रममा चेक रिपब्लिक पुरुष २ जना, इजिप्ट २ पुरुष, फिनल्याण्ड १ पुरुष, इटाली १ पुरुष, जापान १६ पुरुष, लेवनान १६ महिला र ४ पुरुष, लिविया १ पुरुष, मरिसस १ पुरुष, नाइजेरिया १ पुरुष, पपुवा न्यूगिनी १ पुरुष, पोल्याण्ड १ पुरुष र १ महिला, रसिया ३ पुरुषको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ । सेरालियन १ पुरुष, श्रीलंका २ पुरुष, तान्जानीया १ पुरुष, युगाण्ड १ पुरुष र भियतनाममा १ पुरुषको मृत्यु भएको थियो ।

त्यस्तै गरि ओमनमा ५० पुरुष र ४ महिला सहित ५४ जना , कतारमा १३ सय ५८ पुरुष र ९ महिला सहित १३ सय ६७, क्यानडामा १ पुरुष, कुबेतमा १ सय ८१ पुरुष र ४० महिला सहित २ सय २१ जना, जर्मनीमा १ पुरुष र १ महिला सहित २ जना, जोर्डनमा १ महिला, टर्कीमा २ पुरुष, दक्षिण कोरियामा १ सय २ पुरुष र १ महिला सहित १ सय ३ जना, बहराइनमा ८७ पुरुष र २ महिला सहित ८९ जना, मलेसियामा २४ सय ६३ पुरुष र ३३ महिला सहित २४ सय ९६ जना, माल्दिभ्समा ६ पुरुष र इजरायलमा ५ पुरुष र २ महिला सहित ७ जनाको मृत्यु भएको थियो ।
त्यस्तै संयुक्त अरब इमिरेट्समा ५ सय ३ पुरुष र ४१ महिला सहित ५ सय ४४ जना, संयुक्त राज्य अमेरिकामा १ पुरुष, साउदी अरेबियामा १८ सय ९८ पुरुष र ४ महिला सहित १९ सय २ जना र सिसेल्समा १ जना पुरुष कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको तथ्याङक छ । एक दशकको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारमा गएर अंगभंग हुने श्रमिकको संख्या पनि उत्तिकै छ । वैदेशिक रोजगार बोर्डका अनुसार एक दशकमा एकहजार १ सय ७८ जना वैदेशिक रोजगारका क्रममा अंगभंग भई नेपाल फर्किएका थिए ।

नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ । धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ । कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन् । कतिपयले भने पारिवारिक मनमुटाव, चर्को ऋण, श्रम सम्झौता अनुसार सेवासुविधा नपाउनुका कारण आत्महत्या बढेको अनुमान छ ।
विदेशमा धेरैले ‘कार्डिक एरेस्ट’ का कारण ज्यान गुमाएको पाइन्छ । तथ्यांक अनुसार वर्षौंदेखि नै यो समस्याले नेपालीहरुमा उच्च छ । दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिक एरेष्टको शिकार हुने गरेका छन् ।

त्यसैगरी मादक पदार्थका रुपमा विभिन्न केमिकलहरु मिसाएर खाने तथा एकैपटक धेरै मात्रामा रक्सी खानेलगायतका कारण पनि हृदयाघात हुने गरेको छ । हृदयाघातका कारण पनि धेरैले मृत्युवरण गर्नुपर्छ । असन्तुलित खानपान तथा दैनिकी एवं मानसिक तनावका कारण नेपालीहरु विदेशमा हृदयघातको शिकार भएको बोर्डको तथ्य छ । यस्तै ट्राफिक नियमबारे जान्न र त्यसको पालना गर्न खासै चासो नदिने नेपाली आनीबानीले पनि धेरै नेपालीहरुले सडक दुर्घटनामा परी मृत्यु अंगाल्नुपरेको छ । कार्यस्थलमा हुने दुर्घटनामा परेर मृत्यु हुनेहरुको संख्या पनि सानो छैन । यस्तो दुर्घटनामा बढीजसो निर्माण र औद्योगिक क्षेत्रका मजदुरहरु पर्ने गरेको बोर्डले जनाएको छ । कार्यस्थलमा सुरक्षा नअपनाउने र बढी जोखमयुक्त काममा नेपाली कामदारलाई लगाइने कारण कार्यस्थलमा हुने दुर्घटनाबाट अंगभंग हुने नेपालीको संख्या पनि ठूलो छ । रोजगारीमा गएका नेपालीहरु अपराधको शिकार पनि बन्ने गरेका छन् । लुटपाटमा संलग्न हुने समूहबाट तथा व्यक्तिगत रिसइवीमा पनि हत्याका घटना हुने गरेका छन् । नेपाली–नेपाली तथा अन्य देशका कामदारसँग झगडा गरेर पनि धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् । त्यसैगरी मृत्युदण्ड, प्राकृतिक प्रकोप लगायतका कारण पनि कामदारको ज्यान जाने गरेको छ । कतिपयको मृत्यु भने कालगतिले पनि हुन्छ । आत्महत्या गरेर विदेशमा मृत्यु रोज्ने नेपालीको संख्या पनि थोरै छैन ।

जब सम्म नेपालमा राजनीतिक स्थिरता, स्वदेशमै रोजगारी, उत्पादनमूलक कलकारखाना र गुणस्तरीय जीवन बाच्ने आधार कायम हुदैन तब सम्म वैदेशिक रोजगारमा जाने क्रम रोकिदैन । वैदेशिक रोजगारमा जाने क्रम रहे सम्म आमा बाबुले आफ्ना छोरा÷छोरी, श्रीमानले श्रीमति, श्रीमतिले श्रीमान्, छोराछोरीले बाबुआमा र आफ्न्त तथा नातेदारहरुले प्रत्येक दिन आफ्ना प्रियजन गुमाईरहेका हुनेछन् । सबैको खुसीका पोकाहरु काठको रातो बाकसमा सदाका लागि बन्द हुन्छ र रातो बाकसमा फर्कनेहरु सदाका लागि मौन हुन्छन् । यो मौनता कहिल्यै तोडिदैन् ।

सल्लाह, सुझाव र प्रतिक्रियाका लागि

anil.parajuli.om@gmail.com

अनिल पराजुली
थप जानकारी