हेटौंडा । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको गाँजा र अफिम खेति नष्ट गरेको छ । प्रहरीले आर्थिक बर्ष २०७९/८० को साउनदेखि माघ मसान्त सम्म राक्सिराङ र कैलाशमा लगाइएको १५३ बिघा १७ कठ्ठामा लगाइएको अफिम र १६१ बिघामा लगाइएको गाँजा नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्णराज ढकालको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गाँजा खेति नष्ट गरेको हो । प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा लगाईएको गाँजा नष्ट गरेको थियो । त्यस्तै कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा लगाईएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मनहरीले चालु आवको ६ महिनामा ३९२ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले लागुऔषध कोडिवेल १७ बोतल, अफिम २ किलो ८०० बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालयमा बिभिन्न घटनामा दर्ता भएका ६८ मुद्धा मध्ये २८ वटा फछ्यौट भएका छन भने ४० वटा फछ्यौट हुन बाँकी रहेका छन । यहाँ लागुऔषध, जर्वरजस्ती करणी, झुण्डिएर आत्महत्या गर्ने सम्बन्धी मुद्धा धेरै पर्ने गरेको प्रहरी तथ्य छ । मनहरी क्षेत्रमा ७ महिनाको अवधिमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएको प्रहरीको तथ्याङक छ ।
इलाका प्रहरी कार्यालय मनहरीले चालु आर्थिक बर्षको साउनदेखि माघ मसान्त सम्म मनहरी तथा राप्ती खोलाबाट अवैध नदिजन्य पदार्थको ओसारपसार गर्ने २०२ सवारी साधनलाई कार्वाही गरेको प्रहरी निरिक्षक ढकालले जानकारी दिए । हाल इलाका प्रहरी कार्यालय मनहरी मातहत सुनाचुरी, चैनपुर, भार्ता, कान्द्राङ र अस्थायी प्रहरी पोष्ट गिगु रहेको छ ।












प्रतिक्रिया दिनुहोस्