हेटौंडा । शान्ति सुरक्षा प्रदान गर्ने प्रहरी नै असुरक्षित भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा–१८ मा मादक पदार्थ सेवन गरेर आएका जमातले प्रहरी माथि हातपात गरेको हो ।

शनिबार राती हेटौंडा–१८ जलारी भन्ने स्थानमा दुर्घटना भएको खबर प्राप्त भएपछी पुगेका प्रहरी चौकी ठुलोदमारका प्रहरी हवल्दार देवी प्रसाद देवकोटा माथि हातपात भएको छ । दुर्घटनाबारे बुझ्न खोज्दा स्थानीय जित बहादुर अधिकारी र उनको समुहले हवल्दार देवकोटामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट हवल्दार देवकोटा घाइते भएका छन् उनको मुखमा चोट लागेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

जलारीमा एक मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिएपछी घटना बारे बुझ्दा ठक्कर दिने चालक र मोटरसाइकल स्थानीयले लुकाएपछी प्रहरीले खोजतलास गरेको थियो । घटना बारे थप बुझ्न खोज्दा मादक पदार्थ सेवन गरेका जित बहादुरले ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेका हुन ।

प्रहरीलाई आक्रमण गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा भएका उनले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको भान्जा हुँ, एक घन्टामा छुट्छु भन्दै चुनौती दिएका थिए । प्रहरीले नियन्त्रणमा लिएको उनलाई आइतबार बिहान हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँको रोहबरमा छोडेको छ ।