हेटौंडा । बागमती प्रदेशको १३ जिल्ला मध्ये धादिङमा डेंगु सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ देखि भदौ २२ गते शुक्रवार सम्म बागमती प्रदेशभर चारहजार ८८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकोमा धेरै धादिङमा मात्रै तीनहजार ३२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु सङ्क्रमणका कारण धादिङ र ललितपुरमा दुई÷दुई जना र काभ्रेपलाञ्चोक र मकवानपुरमा एक÷एक जना गरेर ६ जना सङ्क्रमितको मृत्यु भईसकेको तथ्याङ्क छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ४५८, मकवानपुर ४१३, ललितपुर २७४, चितवन २६९, भक्तपुर १६८, नुवाकोट १००, काभ्रेपलाञ्चोक ५८, रामेछाप ४३, सिन्धुली ३२, दोलखा १५ र सिन्धुपाल्चोक १४ जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए ।

शुक्रवार ८५ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेरब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२, अगस्ष्टमा तीन हजार १६७ र सेप्टेम्बर ८ सम्म ८८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भईसकेको छ । पछिल्लो तथ्याङक अनुसार प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढेको छ ।

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो, स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भूसालले एसिड लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले डेंगु सङ्क्रमणबाट आफु र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरे । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाईबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाई, वरपर पानी जम्न नदिने, पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेङ्गुुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरिएको हो ।

आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्रोव हुने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, उच्च ज्वरो संगै वाकवाक लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्रोत हुने वा शरीरमा रगत रहेको चक्का (निलडाम) देखापर्ने र बेहोश हुने लक्षणहरु देखापर्ने डा.भुसालले जानकारी दिए ।

जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालहरुमा निःशुल्क डेंगु परिक्षणका गर्न स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत प्रदेशका सबै जिल्लामा आठहजार ९ सय डेंगु किट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये धादिङ अस्पताललाई दुईहजार ५ वटा डेंगु किट हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ ।