कान्तिलोकपथ सडक खण्ड अन्र्तगत ईलाका प्रहरी कार्यालय ठिंगनले सवारी चेकजाँच गर्दै ।

हेटौंडा । स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न बिक्रीका लागि लैजादा प्रहरीले किसानसँँग भ्याट बिल माग्न थालेपछि समस्या भएको छ । गाउँमै उत्पादन भएको सिमी, अदुवा, बेसार बिक्री गर्न लैजादा प्रहरीले अनिवार्य भ्याट बिल माग्न थालेकाले समस्या भएको साना किसानहरुले गुनासो गरेका छन । मकवानपुरको बकैया–१२, ठिंगनवेसीमा नाङ्लोमा चाउचाउ, बिस्कुट राखेर बिक्री गर्न लैजादा समेत प्रहरीले भ्याट बिल मागेको स्थानीयको गुनासो छ ।

काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथ सडक खण्डको बकैया–१२, ठिंगनमा रहेको ईलाका प्रहरी कार्यालयले सामान्य बिषयमा पनि दुःख दिनेगरेको बिरबहादुर घलेले गुनासो गरे । ‘ठिंगन गाउँबाट ठिंगनवेसीमा खेतीपाति गरेका छौं, आफ्नै खेतबाट धान ल्याउँदा समेत प्रहरीले वडा कार्यालयको सिफारिस माग्ने गरेको छ,’ घलेले भने । आफ्नै खेतबारीबाट धान, सिमी, ल्याउँदा पनि ईलाका प्रहरी कार्यालयले वडा कार्यालयको सिफारिस मागेर दुःख दिएको उनको गुनासो छ ।

माइला वाइवाले भैसी थारो भएपछि बेच्ने क्रममा भैसीको क्वारेन्टाइन सहित वडाको सिफारिस प्रहरीले मागेको बताए । ‘गाउँमा पालेको खसी, बोका, भैसी बेच्न पनि मुस्किल भईसक्यो, यहाँ व्यापारीहरु किन्न आउँन छाडे, प्रहरीले क्वारेन्टाइन, वडाको सिफारिस र भ्याट बिलहरु माग्दा हामी गाउँले समस्यामा परेका छौं,’ वाइवाले भने ।

मधेश प्रदेश स्थित पथलैया, मकवानपुरको रातोमाटे, हेटौंडाको चौघडा हुँदै जाने र सातदोबाटो, ललितपुरको भट्टेडाडाँ प्रहरी नाका हुँदै आउने सवारी साधनहरु पनि ठिंगनमा मात्रै कारवाहीमा पर्ने गरेका छन । अन्य प्रहरी नाकाबाट अनुमति लिएर आएका सवारी इलाका प्रहरी कार्यालय ठिंगनमा कारवाहीमा पर्ने गरेको सवारी चालकहरुको गुनासो छ ।

खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री काठमाडौं पु¥याएर ठिंगनको बाटो फर्कदै गर्नुभएका बिरगञ्जका राजेश कुमार पण्डित प्रहरीले गाडी रोकिदिएपछि समस्यामा परे । १२ चक्के गाडीलाई कान्तिलोकपथमा चलाउन रोक लगाएको भन्दै मकवानपुरको प्रहरीले ठिंगन नाकामा दिनभर रोकेर राखेपछि उनी समस्यामा परेका हुन ।

धादिङ गल्छी–२ का नविन पुलामी मगर सिमेन्ट लिनका लागि हेटौँडातर्फ ट्रिपर लिएर आउँदै गर्दा प्रहरीले ठिंगनमा दिनभर गाडि रोकेर राखिदिएको थियो । कान्तिलोकपथ सडकखण्ड हुँदै ललितपुर नाकाबाट आएका सवारी मकवानपुरको ठिंगनमा प्रहरीले रोकेर दिनभर राख्न थालेको छ । ‘आउँने नाकामै बन्द गरिएको जानकारी दिएको भए अर्को बाटो आउँथ्यौं, थाहा थिएन, ठिंगनमा आएपछि गाडि रोकियो प्रहरीले दिनभर गाडि राखेर दुःख दियो,’ मगरले भने ।

यता ईलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक लक्ष्मण गिरीले कानुन र नियम विपरित कसैलाई दुःख नदिएको प्रतिक्रिया दिए । बस्तु, पशुहरु लैजाँदा वडाको सिफारिस मागेको हो, उत्पादन भएका बस्तु बिक्री गर्न लैजादा बिल चाहिन्छ, पशु बिक्री गर्दा क्वारेन्टाइन हुनुपर्छ भनेको हुँ, प्रहरी निरीक्षक गिरीले भने । कानुन अनुसार जिम्मेवारी निर्वाह गरिरहेको उनले बताए ।