हेटौंडा । नदी, खोला किनाराको उकास खेर गईरहेको जग्गामा बगर खेती गर्ने किसानलाई अनुदान दिइने भएको छ । मकवानपुरको बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको हो । पालिकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ ।

पालिकाले प्रति क्लस्टर (५ विघा क्षेत्रफल) मा एकलाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको छ । कृषि व्यवसायमा संलगन भई खेती गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, फार्म मार्फत एकसाता भित्र दरखास्त आव्हान गरिएको छ । अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानिय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने बकैया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताए ।

आयआर्जनमा विकास गर्ने लक्ष्य सहित बगर खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले बताए । ‘हेटौंडा बजारबाट गाउँमा आउने दैनिक उपभोग्य सामाग्री न्यूनीकरण गर्दै जान्छौं, अब बिस्तारै गाउँबाट शहरमा तरकारी पठाउँने लक्ष्यका साथ काम गरेका छौं,’–गाउँपालिका उपाध्यक्ष खत्रीले भने ।

हिउँदमा खेर गईरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सकिने बकैया गाउँपालिका आर्थिक विकास शाखा प्रमुख अशोक कुमार सिंहले बताए । ‘बगरको जग्गा उपयोग पनि गर्न सकियो, त्यहाँबाट उत्पादन भएको तरकारी फलफुल मार्फत किसानलाई आयआर्जन पनि हुनेभयो,’–आर्थिक विकास शाखा प्रमुख सिंहले भने । १२ वटा वडा रहेको बकैयामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास रहेको छ । गोरखापत्रबाट साभार