हेटौंडा । मकवानपुरमा दादुरा रुवेला खोप अभियान सुरु भएको छ । हेटौंडा–९ स्थित रस्सल एकेडेमी खोप केन्द्रबाट कार्यक्रमको सुरुवात गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक ललित बहादुर घलानको प्रमुख आतिथ्यता एवं हेटौंडा–९, का वडाध्यक्ष एवं वडा खोप समन्वय समितिका अध्यक्ष शुकराज केसीको सभाध्यक्षतामा खोप कार्यक्रमको शुभारम्भ गरिएको हो ।

लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरुबाट संक्रमण हुनसक्ने सम्भावनाहरुलाई न्युनीकरण गर्ने लक्ष्यका साथ फागुन १९ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ ।९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउनको लागि अभियान सुरु गरिएको हो । अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई,स्वास्थ्य शाखा हेटौँडा उपमहानगरपालिका शाखा प्रमुख सूर्य तिवारी, मकवानपुरको खोप फोकल पर्सन जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल लगायतको सहभागिता रहेको थियो ।