हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषक सूर्यमुखी खेतीतर्फ आकर्षित भएका छन् । मकवानपुरका विभिन्न स्थानमा सूर्यमुखी फुलको खेती हुँदै आए पनि मकवानपुरगढी ३ को धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी ढकमक्क फुलेपछि कृषक हर्षित भएका हुन्।

बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा लगाएको सूर्यमुखी अहिले ढकमक्क फुलेको छ । उनले प्रति कठ्ठा एक सय केजीको दरले सूर्यमुखी उत्पादन हुने अनुमान गरे । प्रति कठ्ठा एक क्विन्टल फल लाग्ने अनुमान गरेका कृषकले प्रति क्विन्टल २० हजारका दरले ८० हजार रुपियाँ आम्दानी हुने अनुमान गरे ।

सूर्यमुखी फुलको खेती परीक्षणको रूपमा गरिएकाले सफल भए कृषकलाई खेती गर्न प्रेरित गरिने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए। हावापानी र माटोको हिसाबले सूर्यमुखीलाई मिल्दो वातावरण भएकाले उत्पादन राम्रो भए व्यावसायिक खेती गर्न कृषकलाई प्रेरित गरिने उनको भनाइ छ । खेतीका लागि पालिकाले प्राविधिक सहयोग र सहजीकरण गरिरहेको उनको भनाइ छ ।