हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । दुईजना फरार भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ७ बजेर ४३ मिनेटको समयमा मकवानपुरको मनहरी गाउँपालिका–७, पेन्चेबजारबाट प्रहरीले राक्सिराङ गाउँपालिका घर भई हाल मनहरी गाउँपालिका–७ बस्ने २२ वर्षीय विवेक प्रजालाई नियन्त्रणमा लिएको थियो ।

राक्सिराङबाट पेन्चेबजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प ३१०३ नम्बरको मोटरसाइकल र बा प्र ०३–००३ प ९६४७ नम्बरको मोटरसाइकललाई रोकी सुरक्षाजाँच गर्दा ९ किलो ८२० ग्राम लागूऔषध अफिम बरामद भएको प्रहरीले जनाएको छ ।

फरार भएका दुईजनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ परेका प्रजालाई जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।