ओखलढुङ्गा । ओखलढुङ्गामा बलात्कारको झुटो आरोप लगाउने जाहेरी वाली महिलालाई कैद र जरिवानाको फैसला भएको छ । ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमको इजलासले प्रतिवादी विरुद्ध बलात्कारको झुटो आरोप लगाउने जिल्लाको खिजीदेम्बा गाउँपालिकाकी २५ बर्षीया महिलालाई दुई महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको हो ।

उक्त महिलाले खिजीदेम्बा गाउँपालिका–३ चण्डेश्वरीका २३ वर्षीय फुरी शेर्पाले आफूलाई २०८० असोज १९ गते जबरजस्ती करणी गरेको भन्ने आरोप सहित गत असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा प्रहरीले आरोपित शेर्पालाई असोज २९ गते पक्राउ गरेको थियो । शेर्पालाई पक्राउ गरी प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत कात्तिक १९ गते जबरजस्ती करणी शीर्षकमा ओखलढुङ्गा जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको थियो ।

जिल्ला अदालतका तत्काललिन जिल्ला न्यायाधीश टिकाराम आचार्यको आदेशमा कार्तिक १९ गते आरोपित शेर्पालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । अदालतमा भएको बकपत्रमा शेर्पा विरुद्ध बलात्कारको आरोप लगाउने जाहेरीवालीले आफूले झुटो आरोप लगाएको भनेर बयान दिनुभएको सूचना अधिकारी प्रमोद रिजालले बताए ।

झुटो विवरण सहित मुद्दा दर्ता गरेकोले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ को उपदफा २ को खण्ड ‘क’ बमोजिम दुई महिना कैद सजाय र पाँच हजार जरिवाना भएको ओखलढुङ्गा जिल्ला अदालतका सूचना अधिकारी रिजालले जानकारी दिए । प्रतिकुल बकपत्र दिएर कैद सजाय र जरिवाना भएको कम फैसला मध्ये यो पनि पर्ने रिजालको भनाई छ । गाेरखापत्रबाट साभार