हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हँुदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा थप तीन जना घाईते भएका छन् ।

गएराति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–५ कोइलादमार चोक नजिक मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

अरु तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा मलामी गएर फर्केका बागमती ८ बस्ने राम बहादुर गोलेको मृत्यु भएको छ मकवानपुर प्रहरीले जनाएको छ । उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताए । दुर्घटनामा अटो चालक बागमती ८ निवासी सिंह बहादुर योन्जन, अटोमा सवार सोही वडाका वीर बहादुर थोकर र लक्ष्मण राई घाइते भएको जनाइएको छ ।

घाइते तिनै जनाको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइहेको र ट्रक इलाका प्रहरी कार्यालय फापरबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त सडकखण्ड अन्तर्गत झुरझुरेमा मोटरसाइकल ट्याक्टरसंग ठक्करखादा बकैया ५ का ३ जना घाइते भएका थिए ।