हेटौंडा । लोकतान्त्रिक वाम गठबन्धनबाट प्रतिनिधसभा क्षेत्र नम्बर १ (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले ‘वाक तथा प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा हाम्रो प्रतिवद्धता’ विषयक १७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन । प्रतिवद्धतापत्रमा सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धनको नीति लिइने उल्लेख छ ।

सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिइने, आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति लिइने उल्लेख छ ।

त्यस्तै आमसञ्चार माध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसङ्ख्याप्रति लक्षित राष्ट्रिय, प्रादेशिक वा स्थानीय, गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चार माध्यम तथा स्वरोजगार, साना, मझौला र ठुलो लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गरिने, सञ्चारकर्मीहरूको सिप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवम् उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न सङ्घ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने, अनलाइन पत्रकारिताको नीतिगत र कानुनी सुरक्षा तथा विकासको प्रत्याभूति गरिनुका साथै अनलाइन पत्रकारितालाई पनि मूलधारको पत्रकारिताकै रूपमा विकास गरिने उल्लेख छ ।