हेटौंडा । जीर्ण भवन, भाँचिएका बेन्चि, माटोको धुलाम्य भुँइ, ढुंगा र माटोको कोठाको एक पाखा भत्किएको र भूकम्पले थलिएको बिद्यालय भवनको अहिले रुपरेखा फेरिएको छ । खियाँले छियाँ–छियाँ भएको बिद्यालय भवन अनि बिद्यालय पुग्न खोला तार्ने सारथी नपाए घर फर्कनुपर्ने अवस्था बिस्तारै अन्त्य हुँदै गएको छ, मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राविको ।

बिद्यार्थी बोकेर प्रध्यानाध्यापक र कार्यालय सहयोगीले सिमात खोला तारेको बिषय बिभिन्न माध्यमबाट बाहिर आएपछि अहिले यहाँको बिद्यालयले बिस्तारै रुपरेखा फेर्न थालेको छ । यहाँ अध्ययन गर्ने बिद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कार्यालय सहयोगी, शिक्षक सबैको अनुहारमा चमक छाएको छ । सबैको अनुहारमा खुसी छाएको कारण एउटा मात्रै छ यहाँ । इस्थर बेन्जामिन्स मेमोरियल संस्थाको सहयोगमा दुई कोठे पक्की भवन निर्माण भएपछि अहिले सबैको अनुहारमा खुसी छाएको हो ।

संस्थाको सहयोगमा विद्यालय व्यवस्थापन समिति तथा वडा अध्यक्षको पहलमा भवन तथा शौचालय निर्माण भएको हो । विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेले बिद्यालय जान पुल नहुँदा बिद्यार्थीहरु बोकेर खोला तारेको र जीर्ण बिद्यालय भवनकाका कारण पठनपाठनमा समस्या भएको बिषय मिडिया मार्फत सार्वजनिक भएपछि इस्थर बेन्जामिन्स मेमोरियल संस्थाको सहयोगमा बिद्यालय भवन निर्माण भएको थियो ।

सिमात खोलाका कारण बालबालिकाहरु वर्षायाममा ज्यान जोखिममा राखेर विद्यालय आउनुपर्ने बाध्यता पनि अन्त्य हुने भएको छ । नयाँ बिद्यालय भवन निर्माण भएपछि बिद्यार्थीहरु पनि नियमित बिद्यालय आउन थालेको प्रअ घलेले बताए । साढे एकाइस लाखमा दुई कोठे पक्की भवन, बालमैत्री धारा र शौचालय निर्माण भएको उनले बताए । नयाँ भवन पढ्न पाएपछि नानी बाबु खुसी भएका छन प्रअ घलले भने अब धुलो धुँवामा बस्नुपर्ने बाध्यता हटेको छ ।

बकैया गाउँपालिका वडा नं. १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई मार्फत गाउँपालिकामा समन्वय गरेर राडो नेपालले यहाँ पुल निर्माण गर्न सर्वे समेत गरिसकेको छ । वडा अध्यक्ष बजगाईले विद्यालय भवन निर्माण गर्ने संस्थालाई धन्यवाद दिर्दै पुल निर्माण पनि चाडै हुने विश्वास व्यक्त गरे । उनले बालबालिकाकाृ शैक्षिक अवस्था सुधार गर्न वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

विद्यालयमा हाल धेत्रे, गोदाम डाँडा, ढिस्कापाखा, चुवार पाखा र अजिंगरेका २३ जना विद्यार्थीहरु अध्ययनरत छन् । यहाँ बालविकास शिक्षा पनि संचालनको तयारी गरिएको छ । २०५३ सालमा प्लान नेपालले स्थापना गरिदिएको यस विद्यालय २०६१ मा जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालनमा रहेको छ ।