काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको संख्या मात्र बढेको तर विश्वसनीयता बढ्न नसकेको बताएका छन । पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएकाले गुणस्तरीयता र विश्वसनीयतामा ध्यान दिन उनले आग्रह गरे ।

प्रेस काउन्सिलबाट एक वर्षदेखि विभिन्न पृष्ठभूमिबाट आएका अनलाइन सञ्चालक र सम्पादकलाई नियमित अभिमुखिकरण कक्षा हुँदैआएको र यसलाई निरन्तरता दिने पनि उनले जानकारी दिए ।

शुक्रबार काउन्सिलमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिडियाजगतका अहिलेका समस्या समाधान गरेर पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सम्बद्ध सबै निकायको प्राथमिकतामा पर्नुपर्ने बताए । अभिमुखीकरणमा विज्ञका रुपमा सहभागी वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले पत्रकारितामा विश्वसनीयता जोगाउनु अहिलेको चुनौती रहेको बताए । पत्रकार आचारसंहिताको पूर्णतः पालनाबाट मात्रै विश्वसनीयता कायम हुने उनको भनाइ छ ।

एक वर्षमा ६ सय ७१ अनलाइनका सञ्चालक र सम्पादकले अभिमुखीकरण कक्षा लिएको काउन्सिलको भनाइ छ । शुक्रबारको २२ औँ श्रृङ्खलामा वरिष्ठ पत्रकार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. आचार्य र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विषयगत विज्ञकारूपमा कक्षा लिएका थिए । कार्यक्रमको सहजीकरण काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले गरेका थिए । गाेरखापत्रबाट साभार