हेटाैडा । मकवानपुरको मार्खु क्षेत्रमा पुग्ने धेरैले अहिले व्यक्त गर्ने चिन्ता हो, कुलेखानी जलविद्युत आयोजनाको जलाशय त नराम्रोसँग सुकाइएछ । हुन पनि कुलेखानी जलाशयमा जसरी पानी सुकेको छ, त्यसले सुन्दर इन्द्रसरोवर ताल कुरुप देखिएको छ । स्थानीयबासी र पर्यटकहरुले यसरी पानीको सतह घट्नुलाई राम्रो मानेका छैनन् ।

तर, नेपाल विद्युत प्राधिकरण अझै यो जलाशयको पानी प्रयोग गर्ने योजनामा छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अहिलेको भन्दा १० मिटर कम हुने गरी जलाशयको पानी उपयोग गरिने बताउँछन् ।

गत वर्षायाममा कुलेखानीको जलसतह समुद्र सतहबाट १ हजार ५३० मिटरमा पुगेको थियो । हिउँदको समयमा प्राधिकरणले जालाशयको पानीबाट विद्युत निकालेपछि जलसतह १ हजार ४९३ मिटरको उचाइमा झरेको छ ।

‘कुलेखानी जलाशयको सुख्खायाममा पानी चलाउने नै हो, जलाशययुक्त आयोजनाको पानी वर्षायाम जति धेरै चलाउन सकिन्छ उति लाभ हुन्छ,’ उनी भन्छन्, ‘वर्षअघि अझै १० मिटर पानी कम हुने गरी जलाशय चलाउँछौं ।’

हिउँदमा पानी उपयोग गर्दा वर्षायाममा भर्न ठाउँ हुने उनले बताए । वर्षायाममा विगतमा जसरी कुलेखानीको पानी खोलर फाल्ने अवस्था आउन नदिने उनले बताए । हिउँदमा भारतबाट विद्युत आयात हुने बेलामा जलाशयको पानी उपयोग नगरेमा वर्षायाममा नदी प्रवाही आयोजनाबाट उत्पादित बिजुली पर्याप्त हुँदा कुलेखानीको पानी पनि खोलेर फाल्नुपर्ने उनको तर्क छ ।

‘वर्षायाममा कुलेखानीको पानी जोगाउने र हिउँदमा कुलेखानीको उपयोग गरेर सकेसम्म विद्युत आयात घटाउने योजनाअनुसार नै कुलेखानीको पानी उपयोग गरेका हौं,’ उनी भन्छन् ।

मकवानपुर उत्तरी क्षेत्रस्थित देशकै ‘पावर ब्याकअप’ को रुपमा परिचित कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटरसम्मको तहमा पानी भर्न सकिन्छ ।

राष्ट्रिय प्रसारणमा बढी विद्युत माग हुने समयमा कुलेखानीको बिजुलीलाई सबैभन्दा भरपर्दो स्रोत मानिन्छ । प्राधिकरणले वर्षातको समयमा कुलेखानीको विद्युतगृह नचलाई राख्ने गरिएको छ ।

कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युतको अधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । प्रणालीमा सन्तुलन कायम गर्न कुलेखानीको भूमिका पनि महत्वपूर्ण मानिन्छ ।

कुलेखानी प्रथम, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो तीनवटै आयोजनाबाट एकसाथ ११४ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । कुलेखानी पहिलोमा ६० मेगावाट, दोस्रोमा ३२ मेगावाट र कुलेखानी तेस्रोमा १४ मेगावाट उत्पादन क्षमता छ ।

कुलेखानीको जलाधारको चिन्ता

तर, पछिल्ला दिनमा पानीको स्रोत सुक्ने र जलाशयको सञ्चय क्षमता घटाउने गरी जलाधार क्षत्रेमा बढेका गतिविधिले स्थानीय क्षेत्रमा चिन्ता बढेको छ ।

कुलेखानी, मार्खु, फाखेल, बज्रवाराही, चित्लाङ, टिष्टुङ, पालुङ र दामन कुलेखानी जलाधार क्षेत्र हुन् । विद्युत उत्पादनकै लागि बनेको परियोजना भएकाले त्यसको पानीको उपयोगलाई नकारात्मक रुपमा लिन नहुने इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी बताउँछन् ।

तर, कुलेखानी जलाशयको पिँधमा माटो थुप्रिन थालेपछि यसको आयुबारे चिन्ता व्यक्त हुन थालेको उनको भनाइ छ । तालको पिँधमा जम्मा भएको गेग्रानका कारण जलाशयको पानी भण्डारण कम हुँदै गएको पुडासैनीले बताए ।

उनका अनुसार कुलेखानीको जलाधार संरक्षणमा विद्युत प्राधिकरण उदाशीन देखिएको छ । बर्सेनि जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुङ्गा, माटो, बालुवा र पातपतिङ्गर जलाशयमा थुप्रँदा कुलेखानीको सतह बढ्न गई पानी अट्ने क्षमता साँघुरिदै जान थालेको छ । ‘जलाधार क्षेत्रमा वृक्षारोपण हुन सकेको छैन, बस्ती बढेको छ, खोला मिचेर सडक, घर र पूर्वाधारहरु बनेका छन्,’ उनी भन्छन्, ‘कतै साइकल रुटका नाममा त कतै अरु नाममा जथाभावी सडक खनिएका छन्, यसले कुलेखानीको आयु घटाउँदैछ ।’

आयोजनाको रोयल्टी रकम जलाधार क्षेत्रका स्थानीय तहरुले आफ्नै प्राथमितकाको क्षेत्रमा खर्चिरहेका छन् । जलाधार संरक्षणका लागि खर्च हुनुपर्ने रकम नै गाउँ–गाउँमा सडक खन्नका लागि प्रयोग भइरहेको छ ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष पुडासैनी स्थानीय होटलहरुले फोहोर समेत जलाशयमै फाल्ने गरेको बताउँछन् । त्यसलाई नियन्त्रण गर्न खोजे पनि आफूहरु असफल भएको पुडासैनीको भनाइ छ ।

‘जलाधार क्षेत्रमा बोरिङ गर्ने क्रम बढेको छ, नदीको पानी मोटर लगाएर तान्ने गरिएको छ, जलाशयलाई असर पर्ने गरी जथाभावी पूर्वाधारहरु बनाइएको छ,’ उनी भन्छन्, ‘जलाशयको संरक्षणका लागि कसैले चासो नदिएकाले यो धेरै सयम टिक्दैन कि भन्ने पीर छ, वर्षमा करोडौंको बिजुली निकाल्ने विद्युत प्राधिकरणले त कम्तीमा सोच्नुपर्ने हो ।’ अनलाइन खबरबाट साभार