हेटौंडा । हेटौंडा ९ स्थित प्रगति माध्यमिक विद्यालयमा चोरी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न एक जनालाई कर्राचोक आसपासबाट र अर्का एक जनालाई हेटौंडा ७ नागस्वती मन्दिरबाट पक्राउ गरेको हो ।
मङ्गलबार दिउसो ३ बजेको समयमा कर्रा चोक नजिकै हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरीले हेटौंडा ९ निवासी कुशल तामाङ लामा भनिने चन्दन योन्जनलाई पक्राउ गरेको हो । यसैगरी विष्णु गौतम नाम गरेका व्यक्तिलाई भने हेटौंडा ७ नागस्वती मन्दिरबाट सादा पोषाकमा रहेका प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
तामाङ र गौतम मिलेर सोमबार बिहान १ बजेर ४५ मिनेटमा विद्यालय हातामा प्रवेश गरी चोरी गरेका थिए । पक्राउ परेपछि चोरीमा संलग्न लामाले विद्यालयको प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले प्रयोग गर्ने दराजबाट १७ हजार रुपियाँ नगद लिएको स्वीकारेका छन् । विद्यालयमा राखिएको दुई सेट मोबाइल पनि लिएको उनले बताए । विद्यालयको पुरानो र नयाँ भवनको बिचको भागबाट पर्खाल नाघी विद्यालयमा प्रवेश गरेको र नगद रुपियाँ मात्र खोजेको उनले प्रहरी समक्ष बयान दिएका छन । पक्राउ परेका लामा ६ कक्षासम्म सोही विद्यालयमा अध्ययन गरेका थिए ।
विद्यालयको नगदबाहेक ४० हजार रुपियाँ बराबरको जिन्सी सामानसमेत चोरी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले बताए । ६ वटा स्टिल दराज, ३ वटा अफिस टेबल र शिक्षकका लकरहरू फोरिएका छन् । विद्यालयमा जडान गरिएको सीसी टिभीका माध्यमबाट उनीहरूलाई पहिचान गरी थप अनुसन्धानको लागि प्रहरीमा निवेदन दिइएको थियो ।
निगरानी अनलाइनबाट












प्रतिक्रिया दिनुहोस्