हेटौंडा । हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङमा निशुल्क आँखा शिविर सुरु भएको छ ।

थाहा नगरपालिका र पालुङ जेसीजको स्थानीय ब्यवस्थापनमा भएको शिविरमा ९७ महिला र ६६ पुरुष गरी १६३ जनाको आँखा परिक्षण गरिएको पालुङ जेसीज बर्ष २०२३ का महासचिब सञ्जय गोपालीले जानकारी दिए ।

शिविरमा थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, कैलाश गाउँपालिका लगायतको क्षेत्रबाट आँखाका बिरामीहरुले सेवा लिएका थिए । शिविर शुक्रबारसम्म संचालन हुने आयोजकले जनाएको छ ।

आँखा परिक्षणबाट मोतियाबिन्दुको लक्षण देखिएका बिरामीहरुको पालुङमै बिहिबार र शुक्रबार निःशुल्क अप्रेसन गरिने तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङकी प्रमुख बिनी महर्जनले बताए । उनले आँखाको जटिल उपचार गर्नपर्ने बिरामीहरुलाई काठमाण्डौ रिफर गर्ने र काठमाण्डौमा समेत निशुल्क उपचार गरिने बताए ।

शिविरमा पालुङ जेसीज बर्ष २०२३का अध्यक्ष संगम कार्की महासचिव सञ्जय गोपाली, कोषाध्यक्ष माधब कार्की लगायतले सहजीकरण गरेका थिए । शिविरमा तिलगंगा आँखा अस्पताल काठमाण्डौंका चिकित्सकको टोलीले आँखा परिक्षण गरेका छन् ।