हेटौंडा । नारायणी यातायात व्यवसायी संघले मकवानपुर निर्माण व्यवसायी संघका नवनिर्वाचित समूहलाई बधाई ज्ञापन गरेको छ ।

आइतबार संघको सभाकक्षमा आयोजित कार्यक्रममा अध्यक्ष हीरालाल श्रेष्ठले यातायात क्षेत्रमा अझै पनि चुनाव हारेपछि संघ फोर्ने रोग रहेको र यातायात तथा निर्माण क्षेत्रलाई इज्जतसँग हेर्ने प्रचलन नभएकाले यसलाई मर्यादित बताउन सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘यातायात क्षेत्रमा अझै पनि पञ्चायतकालीन प्रवृत्ति हावी छ, संघमा नेतृत्वमा नपुग्नेहरुले नयाँ संस्था जन्माएका छन्, निर्माण क्षेत्रमा जितेका युवा पुस्तासँग हामी सहकार्य गर्न चाहन्छौँ ।’

निर्माण व्यवसायी संघका अध्यक्ष बालमुकुन्द ढकालले संघप्रति आभार गर्दै मकवानपुरको विकास निर्माण कार्यमा सहकार्य रहने बताए । कार्यक्रममा नारायणीका महासचिव सरोज खनालले बैंकहरुले गरेको ज्यादतीका घटनामा सबै व्यवसायीको समान पीडा भएकाले सहकार्य गरेर आन्दोलन गरिने बताए ।