हेटौँडा । चुल्होचौकामा मात्रै सीमित गृहणी महिलाहरू मिलेर उद्योग खोलेका छन् । उद्यमशीलता तालिम लिएर महिलाहरूले आलु चिप्स र दालमोठ बनाउने उद्योग खोलेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाको एकलाख सहयोगमा हेटौँडा–६ का गृहणी महिला मिलेर उद्योग सञ्चालनमा ल्याएका छन । उनीहरूले उत्तरी मकवानपुरमा उत्पादन भएको आलुबाट आलुको चिप्स बनाउनुका साथै मकवानपुर जिल्लामै पाइने खाद्य पदार्थको उपयोग गरेर दालमोठ बनाएका छन । आलु चिप्स र दालमोठका लागि स्थानीय महिलाहरू आफैँले मसला तयार गरेका हुन । प्रारम्भिक चरणमा उत्पादन भएको आलु चिप्स र दालमोठ प्रयोगकर्ताले मन पराएको उनीहरूको प्रतिक्रिया छ ।

सक्रिय महिला उद्योग अध्यक्ष अनुराधा उप्रेतीले घरको काम सकेर बचेको समय गृहणी महिलाका लागि यो उद्योग उपयोगी भएको बताए । “बचेको समयको उपयोग पनि हुने, थोरै लगानीमा काम गर्न सकिने भएकाले हामीले स्थानीयस्तरबाटै उद्योग सञ्चालन गरेका हौं,”–अध्यक्ष उप्रेतीले भनिन् । आयआर्जन सँग महिला जोडिन र उद्यमी पनि बन्न पाउने भएकाले यहाँका महिला अहिले खुसी भएका छन । हेटौँडा उपमहानगरपालिकाबाट १५ दिने तालिम लिएपछि १० जना महिलाहरु मिलेर उद्योग सञ्चालनमा ल्याएका हुन ।

उनीहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाबाट खाद्य उद्योगको अनुज्ञापत्र लिएर उद्योग सञ्चालन गरेका हुन् । सक्रिय महिला उद्योग हेटौँडा–६ को नाममा अनुज्ञापत्र लिइएको हो । चिप्स र दालमोठ भावी दिनमा चितवन र काठमाडौँमा समेत बिक्री गर्ने तयारी गरिएको उद्योग अध्यक्ष उप्रेतीको भनाई छ । उद्योगले एकसय ग्रामको आलु चिप्स एकसय रुपियाँ र ५०० सय ग्रामको दालमोठ २५० रुपियाँका दरले विक्री गर्दै आएको छ ।

६ नम्बर वडाध्यक्ष विष्णु बहादुर दाहालले गृहिणीहरु चुल्होचौका छोडेर घरको आर्थिकोपार्जनमा लागेकोमा खुसी व्यक्त गर्दै उद्योगको निरन्तरताको लागि आफूहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । हेटौँडा उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिम प्रसाद पौडेलले उद्योगलाई प्याकजिङका लागि उपयुक्त मेसिन हस्तान्तरण गरिने प्रतिवद्धता जनाउँदै हाते मेसिन प्रयोग गर्नुपर्ने बाध्यात्मक स्थिति हटाइने बताए ।

हेटौँडा उपमहानगरपालिकाले उद्यमशीलता, रोजगारी, आजको आवश्यकता भन्ने मुल नाराका साथ हेटौँडा–१२ मा अनुज्ञा पत्र लिएर गुन्द्रुक उद्योग, हेटौँडा–५ र १८ मा ६० जनाले रोजगारी पाउनेगरी गार्मेन्ट उद्योग, टेष्टी अचार उद्योग, हेटौँडा–१० मा कोसेली घर सञ्चालन गरेको छ । त्यस्तै महिलालाई आयआर्जन सँग जोड्न ढाका कपडा उत्पादन तालिम, हेटौँडा–२ मा तोफु, हेटौँडा–१३ र १४ मा फलफुल तथा तरकारी खेती, हेटौँडा–५ मा महिला काष्ठकला उद्योग र हेटौँडा–१८ हर्नामाडीमा बेसार खेती मार्फत महिलालाई उद्यममा जोड्दै आएको छ ।

पत्रकार सम्मेलनमा ६ नम्बर वडा सदस्य बिजय पौडेल, तालिमका प्रशिक्षक शोभा श्रेष्ठ , सूचना श्रेष्ठ, महिला उद्यमी गिता मैनाली लगायतकाको सहभागिता रहेको थियो ।