हेटौँडा । हेटौँडामा सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर रहेको पाइएको छ । पशु सेवा कार्यालय मकवानपुरले गरेको बजार अनुगमनका क्रममा यहाँ सञ्चालित मासु पसल फोहर भएको पाइएको हो ।

हेटौँडाको बसर्पाक, लोकप्रिय चोक र गुम्बा चोकमा सञ्चालित ३० वटा मासु पसल अनुगमनका क्रममा अधिकांशमा समस्या भेटिएको छ । मासु विक्री गर्ने पसलमा सिसा, जाली नरहेको, बसपार्क क्षेत्रको मासु पसल वरिपरि पानी जम्ने र मासुमा अखाद्य तथा अन्य बस्तु मिसावट गरेको भेटिएको पशु सेवा कार्यालय मकवानपुरका डाक्टर.विजय पौडेलले बताए । फ्रिजमा राखेको मासुमा गन्ध आएको र बसपार्क क्षेत्रमा राँगाको मासु अत्यधिक फोहर र झिँगा भन्केको अवस्थामा भेटिएको डा. पौडेलले बताए ।

यसअघिको बजार अनुगमनको तुलनामा माछा व्यापारीले सरसफाइमा ध्यान दिएको बताउँदै उहाँले राँगाको मासु विक्री गर्ने पसलमा भने समस्या देखिएको छ । हामीले बजार अनुगमनका क्रममा हेटौँडाको बसपार्क क्षेत्रमा राँगाको मासु बिक्री गर्ने ठाउँ धेरै फोहर भएको पायौँ, मासुमा झिँगा समेत भन्केको थियो, यो आम उपभोक्तामाथिको स्वास्थ्यमा गम्भीर खेलबाड हो, डा पौडेलले भने ।

पहिलो चरणमा सरसफाइमा ध्यान दिन र तोकेको मापदण्ड पुरा गर्ने सर्तमा मासु व्यवसायीहरूलाई सचेत गराइएको छ । चालु आवको स्वीकृत बजेट तथा कार्यक्रम अनुरूप प्रशासनसँग समन्वय गरेर संयुक्त बजार अनुगमन गरिएको हो । पशु सेवा कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, माछा मासु व्यवसायी सङ्घ मकवानपुरको प्रतिनिधिसहित संयुक्त रूपमा बजार अनुगमन गरिएको थियो ।