हेटौँडा । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेश द्रुतमार्ग धमाधम निर्माण भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको चैत मसान्तसम्मको भौतिक प्रगति ३९ दशमलव ३४ प्रतिशत रहेको नेपाली सेनाका सूचना अधिकारी गौरव कुमार केसीले जानकारी दिए । काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसन सहित वित्तीय प्रगति भने ४१ दशमलव ०६ प्रतिशत छ ।

आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरु मध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको नेपाली सेनाले जनाएको छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया शुरु हुन बाँकी रहेको छ । उक्त खण्डमा पर्ने जग्गाहरुको मुआब्जा वितरणको लागि सम्बन्धितसँग समन्वय भइरहेको नेपाली सेनाले सार्वजनिक गरेको प्रगतिमा उल्लेख छ ।

जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधानको लागि सम्भावित विकल्पहरुको डिजाइन कार्य अगाडि बढाइएको नेपाली सेनाका सूचना अधिकारी केसीले जानकारी दिए । २०८१ चैत १९ गते बुङ्गमती इलाकामा पर्ने बोसी खान्की गुठिको १०–०–०–१.०६ रोपनी क्षेत्रफल जग्गा आयोजनाको प्रयोजनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा प्राप्त भएको र हालसम्म स्वीकृत डिपिआर बमोजिम खोकना–बुँगमती इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १७८–९–०–१.७५ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको छ ।

आयोजना अन्तर्गतका ७ वटा सुरुङ्गमार्गको कुल लम्बाइ १० दमलव ९७९ किलोमिटर रहेको छ । सुरुङ मार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाइ ३,३५५ मिटरमध्ये हालसम्म ३,३२२ मिटर दाया टनेल २,०२९ मिटर अर्थात ६१ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ भने ३,३८६ मिटरको बाया टनेलको २,२८६ मिटर अर्थात ६८ प्रतिशत खन्ने कार्य सम्पन्न भएको हो । त्यस्तै प्याकेज नं. २ अन्तर्गत १,६९१ मिटर लम्बाइ रहेको धेद्रे सुरुङ मार्ग र प्याकेज नं. ३ अन्तर्गत १,६२३ मिटर लम्बाई रहेको लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ ।

नेपाली सेनाका अनुसार १,००० मिटर लम्बाइ रहेको देवीचौर सुरुङ र ३९० मिटर लम्बाई रहेको सिसौटार सुरुङको खरिद सम्झौँता तथा डिजाइन कार्य सम्पन्न भई पोटल निर्माणको कार्य भइरहेको सेनाले जानकारी दिएको छ । २,२५० मिटर लम्बाइ रहेको चन्द्राम भीर सुरुङको ९१ दमलव ०३ मिटर निर्माण प्रगति भएको छ । त्यस्तै २०८१ कार्तिक २५ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम स्वीकृत भई ५८३ मिटर लम्बाइ रहेको मौरी भीर सुरुङ्गको डिजाइन निर्माण सुरु हुने चरणमा रहेको सूचना अधिकारी केसीले जानकारी दिए ।

आयोजना अन्तर्गत रहेका जम्मा ८९ वटा पुलहरूमध्ये ८५ स्थानका पुलहरु निर्माणको लागि खरिद सम्झौता भई निर्माणको चरणमा रहेको छ । निर्माणाधीन अधिकांश पुलहरुको फाउण्डेशनको कार्य सम्पन्न भई सुपरस्टक्चरको कार्य भइरहेको छ । जस अन्तर्गत ८१ मिटर उचाइसम्म रहेका विभिन्न प्रकृतिका निर्माण कार्य भइरहेको छ । हालसम्म आयोजना अन्तर्गत जम्मा ५ स्थानका पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । नेपाली सेनाले चालु आवमा विभिन्न प्रकृतिका पुलहरु सहित थप २० वटा पुलहरुको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिएको छ ।

त्यस्तै द्रुतमार्गको २४.८ किलोमिटर देखि ७०.९७७ किलोमिटरसम्म पर्ने जग्गाहरुको अधिग्रहण सम्पन्न भई निर्माण भइरहेको छ । काठमाण्डौँ जिल्लामा रेखाङ्कन परिवर्तन तथा स्लोप स्टेपलाइजेशनका संरचनाहरु निर्माणको लागि थप आवश्यक १२८–२–०–२.५५ रोपनी नम्बरी जग्गा तथा विभिन्न जग्गाहरुमा निर्मित भौतिक संरचनाहरुको क्षतिपूर्ति, ललितपुर जिल्लामा सुरुङ्गमार्ग निर्माणको लागि थप आवश्यक ५४–११–३–१.८२ रोपनी नम्बरी जग्गा र मकवानपुर जिल्लामा थप आवश्यक २८–१५–३–१.१९ रोपनी नम्बरी जग्गा अधिग्रहणको लागि नेपाल सरकारको स्वीकृति प्राप्त हुने क्रममा रहेको छ ।

द्रुतमार्ग निर्माणको क्रममा हालसम्म ४४ हजार ४२० वटा विभिन्न प्रजातीका रुखहरु कटान गरिएको छ । कटान गरिएका रुखहरुको बदलामा हालसम्म ७ लाख ५ हजार ५५२ विरुवा रोपिएको नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

निर्माणको क्रममा रेखाङ्कन अनुकूलन तथा परिमार्जित डिजाइन बमोजिम पूर्व निर्धारित मार्गाधिकार भन्दा बाहिरको थप जग्गा अधिग्रहण तथा रुख कटानको लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति गर्ने गरिएको छ । द्रुतमार्गको २६ किलोमिटर देखी ३५ किलोमिटरमा पर्ने महादेवटार, धेद्रे र लेनडाँडा खण्ड तथा ४९ किलोमिटर देखी ७० किलोमिटरसम्म पर्ने राजदमार, बागदेव र निजगढ खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार २०८० पौष १२ गते जग्गा अधिग्रहण तथा रुख कटान स्वीकृति प्राप्त भएकोमा बारा तथा निजगढ जिल्लामा कटान भएका रुखहरु सम्बन्धित वन कार्यालयहरुमा हस्तान्तरणको भइसकेको छ ।

त्यस्तै द्रुतमार्गको ३५ किलोमिटर देखी ४९ किलोमिटर सम्म पर्ने रानीसेरा तथा बुदुने खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०८१ वैशाखा ७ गतेको वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको छ । त्यसैगरि, २०८१ भदौ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम उक्त सडक खण्ड निर्माणको लागि वन ऐन, २०७६ को दफा ४२ को उपदफा (१) बमोजिम मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिका वडा नं. १, हेटोँडा उपमहानगपालिका वडा नं. १८ र बकैया गाँउपालिका वडा नं. ५ मा रहेको राष्ट्रिय वनको कुल जम्मा ५१ दशमलव ८७१ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो वनमा रहेका विभिन्न प्रजातिका २७ हजार ७४८ गोटा रुख÷पोल कटान गर्ने स्वीकृति दिने निर्णय भएको थियो । सोही निर्णय अनुसार हालसम्म १२ हजार ४७० रुखहरु कटान भइसकेको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै द्रुतमार्गको ६.५ किलोमिटर देखी २४ किलोमिटरमा पर्ने मख्खुबेशी, देवीचौर, सिसौटार, सिस्नेरी र महादेवटार खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिको क्रममा रहेको नेपाली सेनाले आफ्नो वेव साइड मार्फत जानकारी दिएको हो । हाल द्रुत मार्गको सब बेस निर्माण, बायो इन्जिनियरिङ, रोड निर्माण तथा पर्खालहरु लगाउने र सेवा दिनका लागि अन्य रोडहरु निर्माण लगायतका कार्यहरु भइरहेको बताइएको छ ।

प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । २०७४ मा चार वर्षभित्र काम सक्नेगरी तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । २०८०–८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पुरा नहुने अवस्थामा पुगेपछि २०८३ सालसम्मको म्याद थपिएको हो । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ । आव २०८१÷८२ मा २२ अर्ब ५४ करोड ९३ लाख ४० हजार बजेट बिनियोजित भएकोमा चालु आवको चैत मसान्तसम्म ८ अर्ब ७ करोड ४५ लाख ४१ हजार ६५१ रुपियाँ खर्च भएको नेपाली सेनाले जानकारी दिएको छ ।