हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र मकवानपुर प्रहरीको संयुक्त टोलीले दुई ईभी गाडीबाट गाँजासहित ६ जना युवक पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका—३ वसामाडीबाट काभ्रे पाँचखाल नगरपालिका—८ का चालक २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सविन तामाङ र दोलखा सैलुङ गाउँपालिका—८ का २२ वर्षीय सागर तामाङलाई ११२ केजी ७ सय ९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
मनहरीबाट हेटौडातर्फ आइरहेको बा.प्र.०१–००२ ज ६५४९ नं. को ईभी गाडी वसामाडी चौकी अगाडि प्रहरीले रोकेर जाँच गर्ने क्रममा गाडीमा गाँजा फेला पारेको थियो । गाँजा प्लास्टिकमा प्याक गरेर ईभी गाडीभित्र लुकाएर ल्याएको थियो । गाडीभित्र चालकसहित तीन जनामात्र थिए ।
यसैगरी प्रहरीको संयुक्त टोलीले हेटौंडा—३ वसामाडीबाट २६ किलो गाँजासहित तीन युवकलाई पक्राउ गरेको छ । मनहरीबाट हेटौंडातर्फ आइरहेको बा.प्र.०६–००१ ज ०५०३ नं. यात्रुवाहक ईभी गाडीलाई वसामाडी चौकीका प्रहरीले जाँच गर्दा २६ किलो १० ग्राम गाँजासहित मकवानपुर राक्सीराङ गाउँपालिका—१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दिप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तानलाई पक्राउ गरेको छ । उनीहरुले बोकेको झोला खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । पक्राउ परेका तीनै जना ईभी गाडीमा सवारी भएका थिए ।
पक्राउ परेका ६ जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्