हेटौँडा । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना गोष्ठी’को समापन समारोहलाई सम्बोधन गर्दै उनले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले मन्त्रालयले आफ्नो विषयमा विज्ञता हासिल गरेको मन्त्री पाएकाले प्रभावकारी ढङ्गबाट काम हुने विश्वास व्यक्त गरे ।

भाद्र १७ र १८ गते सञ्चालित दुईदिने उक्त गोष्ठीमा आर्थिक वर्ष २०८१÷८२को कार्यप्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कार्ययोजना तय गरिएको थियो । मन्त्रालय मातहतका १९ वटै कार्यालयका प्रमुखहरूले आ–आफ्नो कार्यालयको कार्यसम्पादन विवरण प्रस्तुत गरेका थिए ।

गोष्ठीमा योजना कार्यान्वयनमा देखिएका मुख्य चुनौतीहरू जस्तैः जग्गा प्राप्तिमा ढिलाइ, निर्माण सामग्रीको अभाव, जटिल ठेक्का प्रक्रिया र जनशक्ति अभावबारे विस्तृत छलफल भएको थियो । मन्त्रालयले पूँजीगत खर्च र बेरुजु फछ्यौटजस्ता सूचकका आधारमा पूर्वाधार विकास कार्यालय, मकवानपुर र सहरी विकास तथा भवन कार्यालय, काभ्रेलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

गोष्ठीमा सहभागीहरूलाई सहरी योजना तथा बस्ती विकास विज्ञ प्रा. डा. संगीता सिंह र वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन विज्ञ डा. माधव कार्कीले प्रशिक्षण दिएका थिए ।