हेटौँडा । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीबाट हेटौँडा आउँदै गरेको विद्युतीय गाडी (इभी) र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १६ जना मध्य १२ जना डिस्चार्ज भएका छन भने चार जनाको काठमाडौँमा उपचार भइरहेको छ ।

घाइते तीनजनालाई नेपाल आर्मीको हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । काठमाडौँ गोकर्णेश्वर नागरपालिका–६ बस्ने २६ वर्षीय निकेश पौडेल, ५० वर्षीय मिरा पौडेल र २८ वर्षीय मिकेशा पौडेललाई आर्मीको हेलिकप्टरद्वारा काठमाडौँ बिएण्डबि अस्पतालको लगिएको हो । घाइतेहरूको निधार र शरीरको विभिन्न भागमा चोट लागेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

गाडीमा सवार ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने ३१ वर्षीय युवराज खड्काको निधारमा र वाया खुट्टामा चोट लागेको छ । उनको थप उपचारका लागि हेटौँडाबाट एम्बुलेन्समा काठमाडौँ पठाइएको छ । दुर्घटनामा १२ जना सामान्य, ३ जना मध्यम र एक जना गम्भीर घाइते भएका थिए । घाइतेहरूको सहकारी अस्पताल हेटौँडा, हेटौँडा अस्पताल र सान्भि मेडिकल झुरझुरेमा उपचार भएको थियो । दुर्घटनामा ६ महिला, ८ पुरुष र २ जना बालिका घाइते भएकोे प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभी गाडीले बागमती–४ झुरझुरे मा भित्री बाटोबाट हाइवे तर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई मङ्गलवार बिहान ठक्कर दिई अनियन्त्रित हुँदा सडकबाट १५ फिट खोल्सामा खसेर दुर्घटना भएको थियो । इभी चालक सिन्धुली कमलामाई नगरपालिका–९ बस्ने वर्ष ३९ वर्षीय केदार ढुङ्गेलको उपचार पश्चात् जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा राखिएको छ ।