हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा भएको सवारी दुर्घटनामा बसमा सवार छ जना घाइते भएका छन ।
घाइते हुनेहरूमा मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने ५९ वर्षीया कान्छिमाया मगर, भिमफेदी गाउँपालिका–१ बस्ने २८ वर्षीया सुकुमाया प्रजा, उहाँकी ७ वर्षीया छोरी समिक्षा प्रजा, मनहरी–५ डिल्लिपुर बस्ने ५२ वर्षीय कृष्णबहादुर बिष्ट, मनहरी गाउँपालिका–६ गोदाम बस्ने १६ वर्षीय युसुप राई र मनहरी–८ ज्यामिरे बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् ।
घाइतेमध्ये कान्छिमाया मगर र आशिष गिरीलाई थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ । अन्य घाइतेहरूको घाँटी, कान, टाउको, घुँडा, ढाड र छातीमा चोट लागेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २७०० नम्बरको साझा बसलाई सोही दिशाबाट जाँदै गरेको मधेस प्रदेश ०४–००१ क ००९२ नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली खटिएर घाइतेहरूको उद्धार गरी मनहरी अस्पताल पुर्याइएको थियो । दुर्घटनामा संलग्न बस, बस चालक हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने ३८ वर्षीय पूर्णबहादुर मुक्तान तथा मिनी ट्रक र चालक सिन्धुली बस्ने ४० वर्षीय प्रकाशकुमार थापालाई नियन्त्रणमा लिइएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्